तातोपानी नाकाबाट न्युन राजश्व संकलन
सिन्धुपाल्चोक । कुनै बेला ५ अर्ब राजश्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजश्व संकलन गर्दै आइरहेको छ । उक्त नाकाबाट गत आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व सङ्कलनको लक्ष्य राखिएको थियो तर तीन अर्ब २७ करोड ९४ लाख २० हजार ७२७ रुपैयाँ मात्र अर्थात् लक्ष्यको ७० दशमलब ८४ प्रतिशत मात्र राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
२०७२ सालको भूकम्पपछि बाढी ,पहिरो, कोरोना ,सडक लगायतको कारण देखाउँदै नाका राम्रो सँग सञ्चालन हुन सकेको छैन । गत वैशाख १८ गते केही सामाग्री निर्यात गरेपनि त्यसपछि निर्यात शून्य तथा आयात पनि घटेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।
वैशाख १८ गते बाँसका मुडालगायत नेपाली सामाग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए । आयात गरेका सामाग्रीमा विद्युतीय भ्यान, प्रोजेक्टका सामान, स्याउ ,नास्पाती, ओखर लगायत रहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्