तपाईँ सुन्दै हुनुहुन्छः

बाघ नियन्त्रणमा

चितवन  । मङ्गलवार बेलुका तीन जना मानिस आक्रमण गरी घाइते बनाएको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।  

आज बिहान करिब १०ः३० बजे माडी नगरपालिका वडा नम्बर ३, रेवा टोलस्थित रौतनी खोला किनारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका हात्ती सहितका प्राविधिकहरू एवं निकुञ्जका सेना, इलाका प्रहरी कार्यालय माडी, बघौडा उपभोक्ता समिति लगायतको सामूहिक प्रयासमा डार्ट गरी बाघ नियन्त्रणमा आएको हो। बाघलाई नियन्त्रणमा लिई प्राकृतिक बासस्थानमा छोड्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

मङ्गलवार दिउँसो मानव बस्तीमा प्रवेश गरेको बाघले माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी , ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझीलाई आक्रमण गरी घाइते बनाएको थियो । घाइतेहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको तिवारीको भनाई छ  ।  सो बाघले रामनाथ माझीको बाख्राको खोरमा पसेर एक वटा बाख्रा समेत मारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button