यातायात कार्यालय सुर्खेतद्वारा २५ करोड बढी राजश्व सङ्कलन

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले गएको आर्थिक वर्षमा २५ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
अन्य प्रदेशमा दर्ता भएका सवारी साधन कर्णालीमा दर्ता हुन थालेपछि कार्यालयले आर्थिक बर्ष २०७९÷०८० मा २५ करोड ६६ लाख ४७ हजार ७ सय ८५ राजश्व सङ्कलन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७ प्रतिशतले बढी राजश्व सङ्कलन भएको छ । त्यस आवमा २१ करोड ३० लाख ८२ हजार ९ सय ४९ रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
यातायात क्षेत्रमा व्यावसायिक मन्दीका बाबजुद कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी १९ करोड ६५ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको लेखा अधिकृत रामप्रसाद दाहालले जानकारी दिनु भयो । उहाँले चालक अनुमतिपत्र, सवारी दर्ता किताबलगायत दस्तुर बापत ५ करोड ७ लाख ९६ हजार ४ सय ७५ रुपैयाँ राजश्व सङ्कलन भएको बताउनु भयो । उहाँका अनुसार प्रशासनिक दण्ड जरिवाना र जफतबापत १० लाख ५२ हजार ५ सय ५० रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यातायात क्षेत्रको आम्दानी भने ८ लाख २३ हजार २ सय ७६ रुपैयाँ सङ्कलन भएको उहाँको भनाइ छ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा करिब २५ हजार बढी सवारी साधान दर्ता भएका छन् ।
ट्रायल पास हुने बढे
सुर्खेतमा चालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढेका छन् । कर्णाली प्रदेश सरकारले गरेको निर्णय अनुसार सुर्खेत यातायात व्यवस्था कार्यालयले गत वैशाख २१ गतेदेखि ७० प्रतिशत आएपनि पास हुने नियम लागु गरेपछि ट्रायल पास गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
विगतमा शत प्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्गे सवारीसाधनमा ४० देखि ४५ प्रतिशत सेवाग्राही पास हुने गरेको यातायात कार्यालयले जनाएको छ । लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भएपनि तीन पटकसम्म दिन पाउने व्यवस्था गरेको छ ।
पहिले सवारीसाधनमा स–साना गल्तीका कारण फेल हुनेको सङ्ख्या बढी हुने गरेको थियो । अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याएपनि पास हुने व्यवस्था लागू गरेपछि ट्रायल उर्तिण हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालयका प्रमुख मदनकुमार गिरीले बताउनु भयो । उहाँले ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भएसँगै फेल भएमा ट्रायल मौका परीक्षा समेत दिन पाईने भएकाले पास हुनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिनु भयो ।

अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायातका सूचना अधिकारी चित्रप्रसाद भट्टराईले बताउनु भयो । ‘पुरानो कार्यविधि अनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए,’ ‘सूचना अधिकारी भट्टराईले भन्नु भयो, ‘अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।’
उहाँका अनुसार गाडीको ट्रायल परीक्षामा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने गरेका छन् । अहिले पनि धेरै सेवाग्राही ट्राफिक बत्तीमा समेत झुक्किएर फेल हुने गरेको उहाँको भनाइ छ । प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरू प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि कर्णाली प्रदेशले भने ढिला सुरु गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्