उदयपुरमा झाँगिँदै सम्बन्ध विच्छेदका मुद्दा
उदयपुर । वैदेशिक रोजगार र पारिवारिक कलहका कारण उदयपुरमा बर्सेनी सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।
गत आर्थिक वर्षमा अदालतबाट भएका न्याय सम्पादनका विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकारसँगको भेटघाटमा एक वर्षामा ४ सय ५५ वटा मुद्दा सम्बन्ध विच्छेदको रहेकाे अदालतले जनाएको हाे ।
जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीका अनुसार दर्ता भएका मुद्दा मध्ये ३३ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । आ.व. ०७९/०८० मा १ हजार ३ सय ९२ वटा नयाँ मुद्दा दर्ता र अघिल्लो आ.व.बाट ६ सय ४२ वटा जिम्मेवारी सरी २ हजार ३४ वटा मुद्दा रहेको उहाँले बताउनुभयाे ।
दर्ता भएका मध्ये १ हजार २ सय ३६ अर्थात् ६० दशमलव २७ प्रतिशत मुद्दा फर्छ्यौट भएको र ८ सय ८ मुद्दा जिम्मेवारी सरेको उहाँले बताउनुभयाे । अदालतको गत पाँच वर्षको तथ्याङ्क हेर्दा ०७९/०८० मा सबैभन्दा बढी १ हजार ३ सय ९२ मुद्दा दर्ता भएका छन् ।
तथ्याङ्क अनुसार देवानी १ हजार ३ सय १, सरकारवादी फौजदारी ४ सय १९, दुनियाँवादी फौजदारी २ सय ७०, रिट २१ र पुनरावेदन २३ मुद्दा दर्ता रहेको छ । त्यसमध्ये सम्बन्धविच्छेद ४ सय ५५, जबरजस्ती करणीका ६०, लागुऔषधका ६०, बहुविवाह र बालविवाह १६, घरेलु हिंसा १६ र मानव बेचबिखन ४ रहेका छन् । दर्ता भएकामध्ये सम्बन्धविच्छेदका ३ सय ३६ वटा फर्छ्यौट भएको र १ सय १९ वटा जिम्मेवारी सारिएको न्यायाधीश सुवेदीले बताउनुभयाे ।
त्यसैगरी थुनुवा मुद्दा सङ्ख्या ९१, थुनुवा सङ्ख्या ११ सय २, बालइजलासबाट सुनवाइ हुने मुद्दा ५६, जिम्मेवारी सरेका ६ सय ४२, नयाँ दर्ता भएका मुद्दाको फर्छ्यौट ७ सय १५, एक बर्ष भित्रका मुद्दा ६ सय ७७, अठार महिना भित्रका मुद्दा ८४, अठार महिना नाघेका मुद्दा ४४, दुई बर्ष नाघेका मुद्दा ३ रहेको जनाइएको छ ।
सूचना अधिकारी बुद्धराज निरौलाले अदालतको वार्षिक लक्ष्यको कार्ययोजना अनुसार तीन वटा मुद्दा बढी दर्ता भएको र ९४ घटी फर्छ्यौट भएको बताउनुभयाे । तीन जना न्यायाधीश दरबन्दी रहेको अदालतमा सबैभन्दा बढी मुद्दा न्यायाधीश कृष्णप्रसाद सुबेदीको इजलासबाट ६० दशमलव २७ प्रतिशत फैसला भएको उहाँले बताउनुभयाे ।
त्यस्तै मेलमिलापमा आदेश भएका ३६८ मुद्दा मध्ये ८० वटा मेलमिलाप भएको, निवेदनतर्फ ३ सय २५ रहेकोमा २ सय २० कार्यान्वयन गरिएको उहाँले बताउनुभयाे । फैसला कार्यान्वयनतर्फ कैद र जरिवानाको लगत फर्छ्यौटमा हालसम्म जरिवानातर्फ २१ करोड ७३ लाख २८ हजार ६ सय ४० रहेकोमा ३ करोड ७२ लाख ३८ हजार ६ सय ३१ रुपैयाँ अर्थात् १७ दशमलव १३ प्रतिशत असुल गरिएको तहसिलदार देवराज भट्टराईले बताउनुभयाे ।
त्यस्तै कैदतर्फ हालसम्म २ हजार ७ सय ६१ बर्ष ११ महिना २७ दिन रहेकोमा ६ सय २० बर्ष ५ बर्ष १७ दिन अर्थात् २२ दशमलव ४५ प्रतिशत कैद भुक्तान भएको उहाँले बताउनुभयाे । त्यस्तै कैद जरिवाना लागेका ४ हजार ८ सय ५३ जना व्यक्तिमध्ये ३ सय ६ जनाले भुक्तान गरिसकेको उहाँले बताउनुभयाे ।
क्षतिपुर्तीतर्फ १ करोड ३७ लाख १४ हजार ८ सय २५ रुपैयाँमध्ये ५ लाख २४ हजार ५० रुपैयाँ भराएको बताए ।
कार्यक्रममा बोल्दै न्यायाधीश सुबेदीले एक मुद्दामा प्रतिवादी र अर्को मुद्दामा पीडित धेरै भएका कारण दुई वटा मुद्दा १८ महिना बढी नघाउनु परेको बताउनुभयाे । उहाँले स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्ध विच्छेदका घटनाले प्रशय पाएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘सकेसम्म पुनः घरबार होस भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौ, तर परिस्थिति सोचेअनुरूप नभएपछि एउटा निर्णय गर्न बाध्य छौ । उहाँले अदालतले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुँच अभिवृद्धि, न्यायिक सुशासनको प्रवद्र्धन, अदालत व्यवस्थापन सुदृढीकरण र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धिमा ध्यान दिँदै हरेक किसिमको न्याय तथा कार्यसम्पादन अगाडि बढाएको बताउनुभयाे ।
प्रतिक्रिया राख्नुहोस्