मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौँ महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको छ ।
मेयर शाहले काठमाडौँ महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए ।
मन्त्री मोदीसँग मेयर शाहले काठमाडौँ महानगरभित्र संघीय सरकारमार्फत गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।
जवाफमा मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताउनुभयो । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो ।
“काठमाडौँ महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौँ” मन्त्री मोदीले भन्नुभयो, “तपाईँले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौँ ।”








प्रतिक्रिया राख्नुहोस्