तपाईँ सुन्दै हुनुहुन्छः

झापाको कनकाईमा आजदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

भद्रपुर, झापा । झापाको कनकाई नगरपालिकाले आजदेखि सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीकर्तालाई अधिकतम् रू ५० हजार र प्रयोगकर्ताको हकमा अधिकतम् पाँच हजार रुपैयाँ जरिवाना गराइने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो ।

कनकाई नगरपालिकालाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियान सफल बनाउन हिजो सचेतनामूलक र्‍याली निकालिएको थियो ।

सचेतनामूलक नाराअंकित प्लेकार्ड बोकेर र्‍यालीले नगर परिक्रममा गरेको थियो । र्‍यालीमा नगरप्रमुख पोखरेलको सक्रिय सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button