विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक : उपप्रधानमन्त्री खड्का
सुर्खेत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

“चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता पूरा गर्न राजनीति दलहरू जिम्मेवार हुनुपर्छ”, आइतबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, “विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरू गर्दा राजनीतिक दलहरू र राजनीतिकर्मीबिच सहकार्य र समन्वय हुनु आवश्यक छ ।”
आजै भेरीगङ्गा नगरपालिका–८ मा लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपूर्जा वितरणको काम भइरहेको बताउनुभयो ।
उहाँले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, स्रेस्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको काम भइरहेको बताउनुभयो । “एक–डेढ वर्षमा सबै काम सम्पन्न गरेर यस्ता पुर्जाहरू वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र स्रेस्ता दिने काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “कोही पनि नेपाली नागरिक भूमिहीन भएर बस्नुपर्ने अवस्था हुँदैन ।”
उपप्रधानमन्त्री खड्काले भेरीगङ्गा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै घरमा स्वच्छ खानेपानी पुर्याउने सरकार लक्ष्य रहेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको बताउनुभयो । “खेलाडी प्रोत्साहन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएका छौँ”, उहाँले भन्नुभयो, “खेल क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि सरकार प्रतिबद्ध छ ।”
कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको बताउँदै उहाँले कर्णालीलाई खेलमय बनाउने गरी सङ्घ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्