परराष्ट्रमन्त्री साउद थाइल्यान्ड जानुहुँदै
काठमाडौँ I परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्यान्ड जानुहुने भएको छ । थाइल्यान्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जानुहुने भएको हो ।
परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उहाँ सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मङ्गलवार स्वदेश फर्कनुहुनेछ ।
बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो । प्रारम्भिक रूपमा यो सङ्गठन ‘बिस्टेक’ (बङ्गलादेश-भारत-श्रीलङ्का-थाइल्यान्ड आर्थिक सहयोग) को रूपमा थियो । सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई यो सङ्गठन अब बिमस्टेकको रूपमा चिनिन्छ । रासस








प्रतिक्रिया राख्नुहोस्