तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल परीक्षा सुरु

पाल्पा । पाल्पाको बाँसटारीमा यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रवारबाट सुरु गरेको छ । 

तराईमा मात्र हुँदै आएको ट्रायल लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु भएको हो ।

लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले ट्रायल परीक्षाको शुभारम्भ गर्नुभयो । 

ट्रायल सेन्टरको शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहनुभएका रानाले लुम्बिनी प्रदेश सरकारले पाल्पामा समेत यातायात व्यवस्था कार्यालय राखेर सेवा दिएकोमा धन्यवाद दिँदै त्यसको लागि आफ्नो महत्वपूर्ण पहल रहेको समेत बताउनुभयो । 

ट्रायल सेन्टरमा आगामी दिनमा जनताले सहज ढंगले सेवा पाउनुपर्ने जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरेले बताउनुभयो ।

तानसेनमा ट्रायल सेन्टर खुल्नु पाल्पा र तानसेनबासीको लागि गर्वको कुरा भएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

एक साताअघि लिखित परीक्षा लिएर शुक्रबार दुई पाङ्ग्रे सवारी साधन स्कुटर र मोटरसाइकलको ट्रायल गराइएको हो । 

लिखित परीक्षामा उत्तीर्ण १९० जनाको ट्रायल लिइएको यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख केशव सुनारले बताउनुभयो ।

 सिद्धार्थ राजमार्गको बाँसटारीदेखि एक किलोमिटर नजिकमा सुरु ट्रायल सेन्टरका लागि अघिल्लो वर्ष एक करोड बजेट विनियोजन भएको थियो । ट्रायल सेन्टर नजिक सेवा कार्यालयका भवनका लागि जग्गा व्यवस्थापन भएको र आगामी आर्थिक वर्षमा निर्माण सुरु हुने वडाध्यक्ष प्रदीप खनालले बताउनुभयो ।

तानसेन नगरपालिका–७, बाँसटारी ठाँटीमा ट्रायल सुरु भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा सम्मका नागरिकले सेवा पाउने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button