रत्ननगरमा विपन्न उपचार कोषबाट ४० जना अति विपन्नले लिए सेवा

चितवन । रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचार कोषबाट दस महिनामा ४० जनाले सेवा लिएका छन् ।
अतिविपन्न नगरवासीको उपचारका लागि सो नगरपालिकाले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग गरिएको मेयर प्रलाद सापकोटाले बताउनुभयो ।
नगरपालिकाले कार्यविधि बनाएर चालू आर्थिक वर्षको भदौ महिनाबाट कोष सञ्चालन गरेको थियो । कोषको कार्यविधिअनुसार एउटा बिरामीलाई १० हजार रुपैयाँसम्म उपचारका लागि दिने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार रकम थप गर्ने विकल्प खुल्ला गरिएको मेयर सापकोटाले बताउनु भयो ।
शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जनही २० हजार रुपैयाँसम्म प्रदान गरिएको छ । १० हजारभन्दा बढी पाउने बिरामीको सङ्ख्या तीन रहेको छ । वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको छ । ३७ जना बिरामीको उपचारका लागि जनही १० हजार र तीन जना बिरामीको उपचारका लागि जनही २० हजार रुपैयाँ कोषबाट प्रदान गरिएको मेयर सापकोटाले बताउनु भयो । ।
नगरपालिकाले अति विपन्नको स्वास्थ्य उपचारका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी कोष स्थापना गरेको हो । ‘आर्थिक अभावका कारण कसैको ज्यान जान हुँदैन’, उहाँले भन्नुभयो, ‘गरिब तथा विपन्नको उपचारका लागि कोष स्थापना गरेका हौँ ।’
त्यसैगरी, सो नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । चालू आर्थिक वर्षमा ३ हजार २०० घरधुरीको निःशुल्क बिमा गरिएको मेयर सापकोटाले जानकारी दिनुभयो ।
विपन्न समुदायको उपचारका लागि स्वास्थ्य बिमा र आकस्मिक उपचारका लागि कोष स्थापना गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्