स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ : मन्त्री लिम्बू
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशभित्रको स्रोत साधनको उपयोग गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभएको छ । युवालाई देशभित्रै बस्न बाध्य बनाउने गरी काम गर्नुपर्ने बेला आएको उहाँको जोड थियो ।

सङ्घीय संसद्, प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “युवालाई विदेश नजाऊ, अहिलेदेखि नै काममा लाग, रोजगारीमा लाग, उद्यमशील बन भन्ने कार्यक्रम मन्त्रालयसँग छ भनेर जान सकियो भने केही मात्रामा सुधार आउन सक्छ, त्यसका लागि मन्त्रालय प्रयासरत छ ।”
राम्रो नीति बनाउन सकेको खण्डमा त्यसले राम्रो खालको परिणाम दिने विश्वास व्यक्त गर्दै उहाँले भएको स्रोत सञ्चालन गर्ने मात्रै भन्दा पनि अन्य स्रोत जुटाउनेतर्फ पनि मन्त्रालय लागिरहेको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्ले सबै कार्यक्रम गरे पनि प्राविधिक जनशक्ति कम भएका कारण बजेट कार्यान्वयन गर्न नसकिएको उहाँले स्वीकार्नुभयो ।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई सहयोग गर्ने मन्त्रालयको योजनामै रहेको उहाँको जवाफ छ । खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून भएका कारण पनि धेरै काम गर्न नसकिएको जवाफ दिनुभयो ।
समितिका सदस्य सरिता भुसाल, सुमना श्रेष्ठ, भानुभक्त जोशी, दीपा शर्मा, विद्या भट्टराई र प्रभु हजाराले अबका युवालाई देशभित्रै बस्ने वातावरण सिर्जना हुने गरी युवा तथा खेलकुद मन्त्रालयले रोजगारमूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्