अझै पनि घरमै सुत्केरी

रुकुम पश्चिम । रुकुम पश्चिमका विभिन्न क्षेत्रमा अझै पनि घरमै सुत्केरी हुने गरिएको पाइएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका विभिन्न गाउँ बस्तीहरूमा अझै पनि घरमै सुत्केरी हुने गरिएको पाइएको हो । चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्त सम्म १४ जना महिलाहरू स्वास्थ्य संस्था नगएर घरमै सुत्केरी भएका छन् । चालु आर्थिकको ११ महिनामा सुत्केरी भएका जम्मा तीन हजार ५१ महिलाहरू मध्य १४ जना घरमै सुत्केरी भएको तथ्याङ्कबाट देखिएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका डा. सुशील पोखरेलका अनुसार नागरिकमा अझै सचेतनाको कमीको कारण घरमै सुत्केरी हुने र बनाउने सङ्ख्या रहेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा बच्चाको स्वास्थ्यमा राम्रो सँगै प्रोत्साहन स्वरूप सरकारले रकम र अन्य सुविधा समेत प्रदान गर्दै आएको भएपनि अशिक्षा तथा चेतनाको कमीले त्यस्तो समस्या रहेको हुनसक्ने उहाँको भनाई छ । त्यसका लागि सञ्चार जगतले प्रचारप्रसार गरेर आम नागरिकको मनमनमा सन्देश पुर्याउन जरुरी रहेको उनको भनाई छ ।
‘सुत्केरीको लागि सरकारले उच्च प्राथमिकता राखेर हेलिकप्टर चार्टर देखि अन्य प्रोत्साहनमूलक कार्यक्रमहरू राखेको छ’ उहाँले भन्नुभयो, ‘यस्तो सुविधा हुँदा हुँदै पनि अझै घरमै सुत्केरी बन्नु/बनाउनु आमा र बच्चाको स्वास्थ्यमा जोखिम गराउनु हो ।’ उहाँका अनुसार पहिलेको तुलनामा अस्पताल गराउने महिलाहरूको सङ्ख्या बढेपनि घरमा गराउने सुत्केरी सङ्ख्या शुन्यमा झर्न नसकेको हो । कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षमा ३० जना महिलाको घरमै सुत्केरी भएको छ । जसमा आर्थिक बर्ष २०७७/७८ मा ११ जना र आर्थिक बर्ष २०७८/७९ मा ५ जना रहेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा घरमा सुत्केरी हुनेको सङ्ख्या दोब्बर भन्दा बढी १४ जना रहेको छ ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कालीबहादुर ओलीका अनुसार चालु आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी भए मध्य १ सय ७७ जनालाई अप्रेसन गरेर सुत्केरी गराइएको थियो भने अन्य सामान्य सुत्केरी हुने महिलाहरू रहेका छन् । रुकुम पश्चिममा २४ वटा अस्पताल तथा स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा सुत्केरी गराउने सुविधा छ । जसमा जिल्लाको चौरजहारीमा रहेको चौरजहारी सामुदायिक अस्पतालमा सबैभन्दा बढी सुत्केरी हुने गरेका छन् । चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म चौरजहारी अस्पतालमा ८ सय २९ जना सुत्केरी भएका छन् । त्यस्तै जिल्ला अस्पताल सल्लेमा ७ सय ४१, आठविसकोट अस्पतालमा ३ सय १४, सानीभेरी अस्पतालमा १ सय ७३ र सहिद स्मृति अस्पताल चौरजहारीमा ९९ जना महिलाहरू सुत्केरी भएका छन् । चालु आर्थिक वर्षको असार महिनामा हुने सुत्केरीहरूको तथ्याङ्क नआइसकेका कारण सुत्केरी हुनेहरूको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी नबनाउँदा आमा बच्चाको तत्कालीन स्वास्थ्यमा समस्या हुने देखि दीर्घकालीन रुपमा समेत आमाको स्वास्थ्यमा समस्या देखिने चिकित्सकहरू बताउँछन् । पाठेघर खस्ने समस्या देखि अन्य सङ्क्रमणहरू हुनसक्ने जोखिमहरू हुने गरेको छ । महिला पुनः स्थापना केन्द्र आरेक नेपालले पनि घरमा हुने सुत्केरी रोकथामका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ ।
गाउँ टोलमा आमा तथा युवा समूहहरू मार्फत स्वास्थ्य संस्थामा सुत्केरी बनाउँदा हुने फाइदा र घरमै सुत्केरी बनाउँदा हुने जोखिमहरूको बारेमा सचेतना फैलाउने काम गरिएको जिल्ला कार्यक्रम संयोजक गीता धितालले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले पाठेघर खस्ने समस्या देखि सुरक्षित रुपमा सुत्केरी नहुँदा हुने फिस्टुला जस्ता समस्याहरूको पनि बेलाबेला शिविर आयोजना गरेर चेकजाँच, उपचार, सल्लाह तथा रिफर समेत गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्