तपाईँ सुन्दै हुनुहुन्छः

४२ लाख खर्च,बोर्ड टाँसेर छाडियो अस्पताल निर्माणको काम 

नवलपरासी । पश्चिम् नवलपरासीको ग्रामीण भेग सुस्तामा निर्माण गर्ने भनिएको सुस्ता अस्पतालको योजना वर्षौँदेखि अलपत्र परेको छ । वर्षौअघि बन्ने भनिएको अस्पताल निर्माण स्थलमा आयोजनाको विवरण लेखिएको बोर्ड बाहेक कुनै संरचना देखिँदैन।

 दुई जना मेडिकल अफिसरसहित १७ जना स्वास्थ्यकर्मी रहने भनिएको १० शैया अस्पतालको काम अलपत्र परेको हो । २०७८ असार ७ गते ४ करोड ९ लाख २७ हजार ८१ मा  निर्माण कम्पनी प्राकृतिक, कास्यव, समिर जेभिसँग २४ महिना भित्र अस्पताल निर्माण गर्ने भनी  सम्झौता गरिएको थियो । सम्झौता बमोजिम भएको डिपिआर गलत भइदिँदा अस्पतालको काम अलपत्र परेको गाउँपालिकाको दाबी छ  । असार ६ गते अन्तिम समय तोकिएको अस्पतालको अन्तिम मितिसम्म ठेकेदारलाई गाउँपालिकाले सम्झौता बमोजिम जमिन उपलब्ध गराउन नसकेपछि अस्पतालको काम अलपत्र परेको हो  । डिपिआर अनुसार फिल्डमा जगा नभएको भन्दै ठेकेदार कम्पनी पन्छिँदै आएको छ ।

‘सामान्य उपचारको लागि पनि सुस्ता बासिले सहज उपचार पाउँदैनन् ।  ठुलो रोग लागेर  ज्यानै जाने अवस्थामा पुगे पनि यहाँका नागरिकले उपचार पाउने अवस्था छैन । अस्पताल बन्ला बुटवल,भैरहवा, भरतपुर जानुपर्ने बाध्यता अन्त्य होला भन्ने सोचेँ पनि आफ्नो सपना अधुरो रह्यो’, सुस्ताका अनिल यादवले भन्नुभयो ।

सुस्ता नवलपरासी पश्चिमको  विकट क्षेत्र मानिन्छ । यहाँका नागरिकले सामान्य आधारभूत सेवा समेत पाएका छैनन् । यहाँ हालसम्म पनि कुनै अस्पताल छैन । सामान्य स्वास्थ्य चौकीले सबै किसिमका बिमारी हेर्नुपर्ने अवस्था छ । अपरझट कुनै दुर्घटना परे ज्यान नै जोखिममा राखेर अन्यत्र पठाउनु पर्छ । 

 सुस्ताको गौरबको आयोजना मानिएको अस्पतालको यो अवस्था हुनु समग्र सुस्तावासीको स्वास्थ्यमा गरिएको खेलबाड भएको स्थानीयको गुनासो छ ।

यता डिपिआर मिलेमतोमा कोठामा बसेर बनाउदा अस्पताललाई आवश्यक पर्ने जग्गा डिपिआर बमोजिम फिल्डमा नहुँदा अस्पताल अलपत्र परेको  आरोप गाउँपालिका प्रमुख टेकनारायण उपाध्यायको छ । ‘ अघिल्लो सरकारको पालामा डिपिआर भएको रहेछ त्यतिखेरै स्पष्ट डिपिआर नहुँदा अहिले सबैले दुख पायौँ,उपाध्यायले भन्नुभयो ।

 गाउँपालिकाका प्राविधिक सव इन्जिनियर बिष्णु ज्ञवाली भने डिपिआर र अस्पताल मापदण्ड बारे जानकारी नहुँदा  आफूहरूले ४२ लाख रुपैंया भुक्तानी गर्न सिफारिस  गरेको बताउनुहुन्छ।

डिपिआर निर्माणका लागि १० लाख र अस्पताल निर्माण हुने स्थलसम्म पुग्न निर्माण भएको बाटोका लागि ३२ लाख गरी कुल ४२ लाख खर्च भएको पालिकाले जनाएको छ । ठेकेदार कम्पनीले मुद्दा हालेपछि गाउँपालिकाले ठेकेदार धरौटी जफत गरेको थियो ।

करिब ५ करोडको लागतमा बन्ने भनिएको अस्पतालको डिपिआर निर्माण कर्ता डि आर एस डेभलपर्स एण्ड डिजाईनर्स प्रालिका अध्यक्ष राजेन्द्र भट्टराईले भने डि पि आर बिग्रनु सामान्य रहेको बताउँदै फेरी बनाउन मिल्ने भन्दै सामान्य रुपमा जवाफ दिनुभयो ।

यता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेले भने डिपिआर गलत भए सच्याएर निर्माण अगाडि बढाउन सकिने भएपनी ठेकेदार कम्पनीले टेन्डर  हालिएको रकममा अस्पताल निर्माणमा घाटा लाग्ने डरले पन्छिन खोजेको दाबी गर्नु भयो । ‘हाम्रो पालामा अस्पताल निर्माण गर्ने भनेर सहमति अनुसार गुठीको ४ कट्ठा जगा लिएर डिपिआर बनाएका हौँ’,इसु डिपिआरको होइन ठेकेदार निर्माणबाट पछि हट्ने बहाना मात्र हो’ पाण्डेले भन्नुभयो।

लामो समय अस्पताल बन्न नसक्दा सुस्ता अस्पताल दिनप्रतिदिन पेचिलो विषय बन्दै गइरहेको छ । सुस्तावासी भने यो वा त्यो बहानामा  अस्पताल निर्माणको काम कुनै पनि हालतमा रोक्न नहुने बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button