पटेरबाट उत्पादित सामाग्रीबाट मनग्य आम्दानी गर्दै सुस्ताका महिलाहरू

नवलपरासी । लगानी नगरी उत्पादन हुने खेर गइरहेको पटेरबाट यहाँका महिलाहरूले आम्दानी गर्न थालेका छन् ।
महिलाहरूले विभिन्न कलात्मक सामाग्री बनाउन थालेपछि अहिले पटेरको सदुपयोग भएको छ भने उक्त आम्दानीबाट उनीहरूको घर खर्च समेत चल्न थालेको छ ।

पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकाका सयौँ महिलाहरू पटेरको प्रयोग गरी कलात्मक खालका हस्तकलाका सामाग्री बनाएर आम्दानी गर्ने गरेका छन्। स्थानीय स्तरमा उपलब्ध पटेर (एक प्रकारको लामो आकारको झार) को प्रयोग गरी बनाइएका हस्तकलाको सामाग्रीको माग बढ्दै गएपछि अहिले धेरै महिला यसतर्फ आकर्षित भएका हुन् ।
सुस्ताकी कल्पि कुमारी चौधरीले पटेरबाट बनाएका हस्तकलाका सामाग्री बिक्री गरेर राम्रो आम्दानी मात्रै गर्नुभएको छैन उद्योग विभागबाट एक लाख राशिको पुरस्कार पनि पाउन सफल हुनुभयो । केही वर्ष अगाडीसम्म घर खर्च धान्न पनि धौ धौ हुँदै आएकोमा चौधरीले अहिले घर खर्च चलाएर श्रीमानलाई पनि पैसा दिने गरेको उहाँ बताउनुहुन्छ । “आफूले मेहनत गरेर पैसा कमाउँदा अर्कै आनन्द आउने रहेछ घरको खर्च पनि चलेको छ”, उहाँले भन्नुभयो ।

पानी जम्ने दलदलमा सहजै पाईने पटेर, घाँस प्रजातिको वनस्पति हो । पटेर बाट सुकुल, मुडा, पिर्का, टोकरी, किताब र्याकलगायत सजावटका विभिन्न समान बनाइन्छ । आकर्षक देखिने पटेरका सामग्रीको माग देशका ठुला सहरबाट बढी हुने गरेको छ । माग धान्न धौ धौ भएपनि घरायसी कामकाजमा अल्झिएका महिलाहरू पनि अहिले पटेरका सामाग्री बनाउन सक्रिय भएका छन् ।
स्थानीय स्तरमा सहजै उपलब्ध हुने कच्चा पदार्थबाट समान बनाएर बेच्ने उद्यमीका लागि स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्दे आएका छन् ।

प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत सीपमूलक तालिम प्रदान गरिरहेको उद्योग अधिकृत गंगाधर पाण्डेले बताउनुभयो । यसबाट महिलाहरू लाभान्वित हुने पाण्डेले बताउनुभयो ।
अहिले महिला र पुरुष गरी झन्डै दुई सय जनाले पटेरबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् ।

सुस्ता गाउँपालिकाले समेत यसको प्रवद्र्धन गर्ने योजना बनाएको छ । “स्थानीय कच्चा पदार्थबाटै उत्पादन हुने हुँदा यसलाई उद्यमशीलतासँग जोड्ने योजना बनाएका छौँ । यसबाट उत्पादित सामाग्रीले मूलतः महिलाहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छ”, गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भन्नुभयो ,“केही दिन अघि मात्र पालिकाले यसको प्रवर्द्धनका लागि महिलाहरूलाई तालिम दिइएको छ ।”
व्यावसायिक रुपमा पटेरका सामाग्री बनाएर बजारीकरण गर्न सके यो व्यवसाय स्वरोजगारसँगै स्थानीयको पहिचान मात्रै नभएर धेरैको जीविकोपार्जनको दरिलो माध्यम बन्न सक्छ ।








प्रतिक्रिया राख्नुहोस्