समाजवादी मोर्चाद्वारा आचारसंहिता निर्माण गर्न चार सदस्यीय कार्यदल गठन
काठमाडौँ । समाजवादी मोर्चाको आज बसेको पहिलो बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता निर्माण गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा सदस्य रहेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनाका दरले मोर्चामा सहभागी दलहरूले आलोपालो गर्ने पनि निर्णय गरेको नेता पाण्डेले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
मोर्चाको नेतृत्व बारेका अन्य विषय आगामी बैठकबाट टुङ्गो लाग्ने र त्यतिन्जेलका लागि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले नै मोर्चाको अध्यक्षता गर्ने सहमति भएको पाण्डेले बताउनुभयो ।
मोर्चामा यसअघि आलोपालो नेतृत्व गर्नेबारे समझदारी भए पनि कति–कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन ।
यस्तै बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको र त्यसको मिति तथा विस्तृत कार्यक्रम भने असार २७ गते बस्ने मोर्चाको अर्को बैठकले तय गर्ने नेता पाण्डेले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चाको घोषणा भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्