तपाईँ सुन्दै हुनुहुन्छः

‘कान्ति राजमार्गलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउँछौँ’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कान्ति राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन निरीक्षण गर्नुभएको छ । काठमाडौँ उपत्यकालाई तराई मधेशसँग जोड्ने पुरानो राजमार्ग भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालन एवं पुनःनिर्माण कार्यले गति लिन सकेको छैन ।

सरकारले सो आयोजनाका लागि सडक चौडा तथा सुधार गरी कालोपत्रेमा स्तरोन्नतिका लागि रु तीन अर्ब ७८ करोड बराबरको बजेट विनियोजन गरेको छ । कूल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्रे गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ । कूल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ ।

राजमार्गको विभिन्न ठाउँमा वर्षात्को समयमा बारम्बार पहिरो गइरहने कारणले गर्दा सडक अवरुद्ध हुन पुगी पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहेको पाइएको छ । पहिराका कारण बिग्रन गएको सडक पुनःनिर्माण गर्न लाग्ने ठूलो परिमाणको टेवा पर्खाल लगायत संरचनाका लागि स्रोतको अभाव हुने गरेको छ । जथाभाबी रुपमा पहुँच सडक निर्माण गरिदा पानीको निकास लगायतका समस्या रहेको छ । कमजोर भू बनोटका कारण पनि निर्माण भइसकेको संरचनामा क्षति पुगेको छ ।

स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले वैकल्पिक राजमार्गको रुपमा रहेको कान्ति राजमार्गलाई व्यवस्थित रुपमा अगाडि बढाउन सरकार र मन्त्रालयको तर्फबाट स्रोत अभाव नहुने बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न तथा कुनै पनि कमी कमजोरी नगर्न समेत निर्देशन दिनुभयो ।

त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, आयोजना सम्बद्ध अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button