मिथिलामा मधुश्रावणी पर्व शुरु
जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लामा नव विवाहिता कन्याले १५ दिनसम्म मनाउने मधुश्रावणी पर्व शुरु भएको छ । पर्व साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्ल पक्ष तृतीया तिथिसम्म मनाइने चलन छ ।

मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामाग्री, लगाउने लुगा, सिन्दूर, पोते, गरगहना तथा १५ दिनसम्म खाने खाद्यान्न सामाग्री तथा पूजाका लागि आवश्यक पर्ने अन्य सामाग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने चलन छ ।
आज साँझदेखि मिथिलाका नव विवाहित कन्याहरू समूहमा भेला भएर विभिन्न प्रकारको परम्परागत गीतसहित घर नजिकको सार्वजनिक उद्यान, बारी तथा धार्मिक स्थलमा भएको मठ मन्दिरबाट फूल टिपेर राति राख्ने र भोलिपल्ट बिहान सोही बासी फूलबाट शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने चलन रहेको छ ।
फूल टिप्ने कार्यलाई मिथिलामा “फूललोढी” भन्ने गर्दछन् । समूहमा नव विवाहित कन्याहरू नयाँ नयाँ रङ्गीचङ्गी लुगाहरू लगाएर हसिठट्टा गर्दै फूल टिप्ने गरेका कारणले मिथिलाञ्चल क्षेत्रको वातावरण नै मनमोहक बन्नेको छ ।
यस अवधिमा श्रीमान् पनि श्रीमती सँगको पूजामा सहभागी हुने गर्दछन् ।
१५ दिनसम्म चल्ने मधुश्रावणी पर्वमा कथा वाचक महिलाले प्रत्येक दिन नै मधुश्रावणी पर्वको विषयमा कथा वाचन गर्ने र सो कथालाई नवविवाहिता कन्या, बेहुलासहित घरका सदस्य, छरछिमेक तथा इष्टमित्रले सुन्ने गरेका छन् ।
पर्वले पति तथा पत्नी बीचको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने जनविश्वास रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्