तपाईँ सुन्दै हुनुहुन्छः

एमालेसँग गठबन्धन गरेर नयाँ सरकार बनाउने कुरा हल्लामात्र भएको कोइरालाको भनाई

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले नेकपा एमालेसँग गठबन्धन गरेर नयाँ सरकार बनाउने कुरा हल्लामात्र भएको र यस विषयमा काँग्रेसले केही नसोचेको  बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सँग कुरा गर्दै उहाँले वर्तमान सरकार गठन भएको केही महिना मात्र भएकाले यो सरकारलाई छाडेर अर्को सरकार गठन गर्ने कुरा सोच्नपनि नसकिने बताउनुभयो । गठबन्धन दल हरुको सहमतिमा यो सरकार सञ्चालन भइरहेकाले सरकारमा केही कमजोरी भए त्यसलाई सच्याउँदै  सरकारलाई थप बलियो बनाउँदै जानुपर्ने उहाँको भनाई थियो ।

नेता कोइरालाले कोशी प्रदेश सरकार गठनका विषयमा सभामुख तटस्थ भएर बस्नुपर्नेमा उहाँले सङ्ख्या पुर्‍याउन सदस्य भएर सरकार बनाउनका लागि हस्ताक्षर गर्नुले यसले भोलिका दिनमा राम्रो नहुने बताउनुभयो । तर उहाँले संसदीय व्यवस्थामा गणितको खेलपनि हुने र गणितको खेलमा यस्ता उतारचढाव पनि हुँदै जाने र त्यसलाई झेल्दै अघि बढ्नुपर्ने बताउनुभयो । 

संसद्को सख्या पुर्‍याउने नाममा  कसैले पनि लोकतान्त्रिक विधि र प्रक्रियालाई बिर्सन नहुने बताउँदै उहाँले संसदीय मूल्य मान्यता र संविधान अनुसार सबै अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

नेपाली कांग्रेसका महामन्त्रीद्वयले काठमाडौँमा गरेको जिल्ला सभापतिको भेलाले काँग्रेसलाई थप सुद्धिढ बनाउनका लागि भएकाले यस विषयमा विवाद गर्नुको अर्थ नरहेको उहाँको भनाई थियो ।

सभापतिको भेला बोलाउन पाउने अधिकार महामन्त्रीको पनि रहेकाले भेलामा नेपाली कांग्रेसका केन्द्रिय सभापतिलाई सहभागी गराएको भए झनै राम्रो हुने उहाँको तर्क थियो ।

एक प्रश्नमा उहाँले प्रधानमन्त्री जुनसुकै कुरा बोल्दा पनि विचार पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले प्रितम सिंह र भारतका विषयमा बोलेको कुरा के कति सत्य हो त्यस विषयमा आफूलाई जानकारी नभएको भन्नुहुँदै प्रधानमन्त्रीले बोलेको कुराले नेपाल र नेपाली जनता तथा संसद्को गरिमा जोडिने हुँदै जुनसुकै कुरा गर्दै वा बोल्दा  प्रधानमन्त्रीले विचार पुर्‍याउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button