तपाईँ सुन्दै हुनुहुन्छः

‘वन सम्पदाको दिगो उपयोगका सम्बन्धमा सरकार सकारात्मक’

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक समितिले वन सम्पदाको वर्तमान अवस्था र यसको दिगो उपयोगका सम्बन्धमा सरकारको भावी योजनाका विषयमा छलफल गरेको छ ।

आजको बैठकमा समितिले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र मन्त्रालयका सचिवसँग वन सम्पदाको अवस्था र दिगो उपयोगका सम्बन्धमा सरकारको भावी योजनाबारे छलफल गरेको हो ।

बैठकमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वन सम्पदाको दिगो उपयोगका सम्बन्धमा सरकार सकारात्मक रहेको भन्दै वन मन्त्रालयलाई लागेको विकास विरोधीको आक्षेप हटाउन तयार रहेको बताउनुभयो ।

मन्त्री डा. महतोले वनलाई उत्पादन र पर्यटनसँग जोड्दै वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनका विषयमा मन्त्रालय केन्द्रित भएको बताउनभयो ।

सचिव डा. रेवतीरमण पौडेलले जिल्लाका जिल्ला वन अधिकृत मन्त्रालयको बीच चेन अफ कमाण्ड नहुँदा समस्या सिर्जना भएको बताउनुभयो ।

सचिव डा. पौडेलले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय, अधिकार क्षेत्र र कर्मचारी इकाईबिच तालमेल हुन आवश्यक रहेको बताउँदै वन्यजन्तुले पुर्याएको क्षतिको क्षतिपूर्तिका विषय समेटेर निर्देशिका ल्याउन मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले जनताले संरक्षण गरिरहेको वनको महत्वपूर्ण काठ कुहिएर जाने गरेको तर जनता आफैँले उपयोग गर्न नपाएको बताउनुभयो ।

सांसदहरुले वनसँग सम्बन्धित ऐन नियम बाझिएको र त्यसलाई आफूलाई सहज हुने गरी व्याख्या गर्ने गरिएको, वन्यजन्तुको आतङ्क नियन्त्रणमा सरकारले ध्यान नदिएको, वन्यजन्तुको आक्रमणबाट घाइतेको उपचार र क्षतिपूर्तिमा सरकारले ध्यान नदिएको लगायतका विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button