तपाईँ सुन्दै हुनुहुन्छः

मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड

काठमाडौँ । बजारमा रासायनिक मलको अभाव हुन नदिन वितरण प्रणाली नै प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ । सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसदहरूले मलको आयात र वितरणको व्यवस्थापन प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कृषिमा निर्भर अर्थतन्त्र भएको मुलुकका किसानले सधैँ मलको अभाव भोग्नुपर्ने अवस्थाको समाधान छिटो हुनुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै सांसद विष्णुप्रसाद पौडेलले मलको सम्बन्धमा देखिएका समस्या हल गर्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । दीर्घकालीन रूपमा रासायनिक मल कारखानामा स्थापना गर्न सबै क्षेत्रमा छलफल गरी छिट्टै समाधानमा जानुपर्ने उहाँको भनाइ छ । 

सांसद गङ्गा कार्कीले बिचौलिया र वितरण प्रणाली व्यवस्थित बनाउन तथा नीतिगत तथा संरचनागत सुधारका काम पूरा गरी किसानलाई सहज मल पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद रामनाथ अधिकारीले मल अभावको तत्कालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुहुँदै उपलब्ध रहेका मलको सही व्यवस्थापन र वितरणमा ध्यान दिन अनुरोध गर्नुभयो ।

सांसद दीपक खड्काले रासायनिक मल वितरणमा बिचौलियाको प्रभाव रहेको उल्लेख गर्दै त्यसलाई तत्कालै समाधान गर्नुपर्ने बताउनुभयो । 

त्यस्तै सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलमा मात्रै निर्भर हुने कि हाम्रो परम्परागत र जैविक मलमा जानेबारे विचार गर्नुपर्ने बताउनुभयो । 

सांसद नारायणी शर्माले बजार व्यवस्थापन अझै प्रभावकारी बनाई असमान वितरण प्रणाली सुधार हुनुपर्ने बताउनुभयो ।

बैठकमा सांसद सूर्य थापाले मलको व्यवस्थापनका सम्बन्धमा बजेटको सुनिश्चितता अझै हुन नसकेको टिप्पणी गर्नुभयो । 

बैठकमा ज्येष्ठ सदस्यका रूपमा समितिको अध्यक्षता गर्नुभएका सांसद विनोद चौधरीले मल सर्वसाधारण नागरिकसँग प्रत्यक्ष जोडिएको विषयवस्तु भएकाले सरकारले समयमै यसको समाधानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

खरिद प्रक्रिया छोट्याऔँ : मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले मल अभाव हुन नदिन खरिद प्रक्रियालाई छोटो बनाउनुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्री भुसालले अहिलेको खरिद प्रक्रियालाई सहज र छोटो बनाउन आवश्यक ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने, खरिद प्रक्रिया नियमित हुन जिटुजीमै जानुपर्ने तथा मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सरकार रासायनिक मलका साथै जैविक मलको व्यवस्थाका सम्बन्धमा समेत अगाडि बढेको मन्त्री भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button