बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छः उपसभामुख राना
काठमाडौं । उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताउनुभएको छ । आज यहाँ नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उहाँले बालबालिकाको अधिकारका लागि विधेयक बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बालबालिकासम्बन्धी कुनै विधेयक बनेको छैन । उनीहरूको अधिकार सुरक्षित र सुनिश्चित हुनुपर्छ ।’ समारोहमा उपसभामुख रानाले छोरी भएको दुई वर्षमै दाम्पत्य जीवनको अन्त्य गर्न बाध्य भएको बताउनुभयो । ‘एकल महिलाको सङ्घर्ष र समाजले हेर्ने दृष्टिकोण सच्चिन जरुरी छ, किनकि आमाको शक्ति आमा बनेपछि मात्र महसुस गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।
सोही कार्यक्रममा एकल आमा भएर आफ्नो सन्तान हुर्काउने सिएनएन हिरो अनुराधा कोइराला, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको थियो । उहाँहरूलाई अभिनेत्रीत्रय भुवन चन्द, चैत्य देवी र वसुन्धरा भुसालले सम्मान गर्नुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्