मुसहर महिलाहरूलाई बङ्गुर, बाख्रा र पाडी वितरण

बसबरीया । सर्लाहीको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर बस्तीका मुसहर महिलाहरूलाई साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले पशु वितरण गरेको छ ।
मुसहर समुदायलाई पशुपालन मार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले बङ्गुर, बाख्रा र पाडी वितरण गरेको साउथ एसिया पार्टनर नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताउनुभयो । मुसहर समुदायमा सामूहिक रुपमा पशुपालनका लागी साप नेपालले ३ लाख बराबरको रकम सहयोग गरेको कार्कीले बताउनुभयो ।
समुदायमा ३१ उन्नत नश्लको बङ्गुर ८ वटा बाख्रा र ३ बटा पाडी वितरण गरेको । उक्त पशुपालनको लागी खोर मुसहर समुदायले आफैले खोर बनाएका छन् ।
विगतमा मुसहर समुदाय चरम आर्थिक अभाव र गरिबीले बिहान बेलुकाको छाक टार्न सिङ्गो परिवार नै दैनिक ज्याला मजदुरी गर्न इँटा भट्टामा जाने गरेका थिए । यसरी परिवारका सदस्यहरु जिल्ला बाहिर गएर इँटा भट्टामा काम गर्न जाने भएकाले उनीहरूका बालबालिकाहरू पढ्न पाएका थिएनन् । तर समूहमा बसेपछि हाल समुदायका सबै जना मुसहर बालबालिकाहरूलाई जन्म दर्ता गरेर विद्यालय जान थालेका छन् ।
पहिले नागरिकता,जन्म दर्ता नभएको कारण सरकारले दिने सेवा सुविधा बाट समेत वञ्चित हुनु परेकोले बिगत एक बर्ष देखी साप नेपालले जन्मदर्ता र विद्यालय भर्ना अभियान चलाउँदै आएको थियो । हाल मुसहर समुदाय बाख्रा, बङ्गुर र पाडा पाडी पालेर गाउँमै बसेर आयआर्जन गरेर आफ्ना बालबालिकाहरूलाई विद्यालयमा पठाउन थालेका छन् ।
पालिका सँगैको अरूले दिएको साँगुरो बस्तीमा धेरै मानिसहरू बसोबास गर्ने भएकोले बस्नको लागी समस्या भएको समूहकी अध्यक्ष सीता माझीले बताउनुभयो । उनीहरूको आफ्नै घर जग्गा नभएको हुँदा बाख्रा, बङ्गुर पाल्न समस्या भएको समूहकी अगुवा मन्मा देवी माझीले बताउनुभयो ।
पालिकाले पनि मुसहर समुदायलाई खासै चासो नदिएको दलित वडा सदस्य सीता माझीले बताउनुभयो ।
अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा सञ्चालित लैङ्गिक उत्तरदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बसबरीयामा मुसहर महिला सशक्तीकरण मञ्चका सदस्यहरूलाई जेन्डर, समूह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मूल्य मान्यता, बाल विवाह, बहु विवाह विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धीमा अनुशिक्षण कार्यक्रम र रिफ्लेक्ट कक्षाहरू सञ्चालन गर्दै आएको साप नेपालकी रिना विष्टले जानकारी दिनुभयो








प्रतिक्रिया राख्नुहोस्