सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा सम्मान
काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विभिन्न समाजसेवी संस्थालाई सम्मान प्रदान गरेको छ ।

काठमाडौँमा आयोजित समारोहमा सङ्घले मानव सेवामा योगदान पुर्याएबापत ललितपुरस्थित तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सुरु सुवेदी, पोखराको कोपिला नेपालकी विना सिलवाल र रौतहटको माण्डवी संस्थाकी अन्जु झालाई सम्मान गरेको हो ।
ती संस्थाहरूले समाजका असहाय तथा गरिब दुःखीलाई आश्रय दिई सेवा गरिरहेकाले सम्मान प्रदान गरिएको सङ्घले जनाएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ती संस्थाका प्रमुखहरूलाई सम्मान प्रदान गर्नुभयो ।
उपप्रमुख डङ्गोलले सशस्त्र प्रहरी परिवार महिला सङ्घको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरूलाई कदर पत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडी लगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्यालले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल छात्रछात्राहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुहुँदै सङ्घको विभिन्न सेवामूलक कार्यहरूमा सहयोग गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्था एवं महानुभावहरूको अनुकरणीय योगदानप्रति आभार प्रकट गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्