तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुर थिमीले आयोजना गरेको मेलामा ५० जनाको रोजगारी पक्का

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले शनिबार सानो थिमीस्थित आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा पहिलो पटक आयोजना गरेको वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा करिब ५० जनाको रोजगारी पक्का भएको छ ।

मेलामा राखिएका विभिन्न सङ्घसंस्था, उद्योग, व्यवसायमा रहेको रोजगारीको अवसरमा आवेदन दिनेमध्ये मेला स्थलमा नै ५० जनाको रोजगारी पक्का भएको हो ।

मेलामा एक सय भन्दा धेरै रोजगारीको अवसरका लागि विभिन्न सङ्घसंस्था, व्यवसाय र उद्योगले आवेदन माग गरेका थिए । जसमध्ये ४८० जनाले रोजगारीको लागि आवेदन दिएको मेला आयोजक समितिका संयोजक एवम् मध्यपुर थिमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले जानकारी दिनुभयो ।

रोजगारीका लागि आवेदन दिनेहरूलाई मेलामा स्टल राख्ने सङ्घसंस्था, व्यवसाय र उद्योगसँग समन्वय गरी रोजगारीको अवसर प्रदान गरिने आचार्यले बताउनुभयो ।

मेलामा सबैभन्दा धेरै निजी विद्यालयहरूको संस्था प्याब्सन भक्तपुरले ४१ जनाको लागि रोजगारीको अवसर राखेको थियो । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यावसायिक सङ्घसंस्थाहरूले समेत गरी एक सय भन्दा धेरै रोजगारीको अवसर राखिएको थियो ।

यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा एक हजार ६५० जनाले परामर्श सेवा लिएको आचार्यले बताउनुभयो । मेलाको ३ हजार ३ सय जनाले अवलोकन गरेका थिए ।

मेलामा निजी उद्योगका १२, सङ्घसंस्थाका ५, प्राविधिक विद्यालयका ८, खाना र स्वास्थ्य सेवाका गरी कुल ३४ स्टल रहेका थिए ।

मेलाको उद्घाटन गर्नुहुँदै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमीलाई शिक्षा, व्यावसायिक र पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरिएको रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता पुरा गर्न रोजगार मेला आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button