जनताको जीवनमा आमूल परिवर्तन अहिलेको मुख्य जिम्मेवारी : पूर्व प्रधानमन्त्री नेपाल

भक्तपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।
आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यमा उहाँले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब आर्थिक क्रान्तितर्फ लाग्नुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री नेपालले जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसाबले शिर ठाडो बनाउने कामको जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने बताउनुभयो ।

प्रधानमन्त्रीले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्ने कुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
जनताको जीवनमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले जनतालाई वास्तवमा सबै हिसाबले शिर ठाडो पारेर हिँड्न सक्ने हिसाबले सामर्थ्य तुल्याउने कामको जिम्मेवारी कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने बताउनुभयो ।
उहाँले सबैले इमानदारिताका साथ अघि बढेको खण्डमा अग्रज योद्धाहरूले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीका नेताको रूपमा अहिले हामीले प्रधानमन्त्री पाएको र पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गरिरहनुभएको बताउनुभयो ।
अध्यक्ष नेपालले गरिबी, अभाव, बेरोजगारी र जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सबैका ज्ञान, अनुभव, बुद्धिलाई लिएर इमानदारिताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । सबै मिलेर अघि बढे अग्रज योद्धाहरूले गर्नुभएको नयाँ नेपाल निर्माणको परिकल्पना र सपनालाई साकार पार्न सकिने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्