कृष्णपुरका नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । शनिबार अपराह्न कृष्णपुर नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी जमिन भएका तर, लालपुर्जा नपाएका कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ६५ परिवारलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरबाट तयार गरिएका लालपुर्जा वितरण गरेको हो ।
विगतका आयोगले अव्यवस्थित बसोबासीको हकमा गरेको अधुरो कामलाई पुरा गर्दै लालपुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोग कञ्चनपुरले जनाएको छ । किसानलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले सरकारले देशैभरका भूमिहीन र अव्यवस्थित नागरिकलाई जमिन वितरण गर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले अव्यवस्थित बसोबासीको हकमा लालपुर्जाका लागि लाग्ने राजस्व दस्तुर घटाउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । ‘मैले राजस्व घटाउने बारेमा मन्त्रीपरिषद्मै विषय उठाउँछु, ‘मन्त्री श्रेष्ठले भन्नुभयो, ‘सबै ठाउँबाट राजस्व बढी भएको गुनासो आएको छ, मन्त्रालयले यसमा हेरविचार गर्छ, सम्बोधन पनि गर्छ ।’
पछिल्लो आयोग बनेयता कञ्चनपुरमा लालपुर्जा वितरणको कार्य गर्ने कृष्णपुर पहिलो नगरपालिका बनेको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले नगरका जनतालाई जमिनको मालिक बनाउने काम निरन्तर अघि बढाउने बताउनु भयो । ‘अहिले यो सुरुवात मात्र हो, ‘उहाँले भन्नुभयो, ‘हामीले लालपुर्जा वितरण कार्य निरन्तर अघि बढाउँछौँ ।’ नयाँ र पुराना दुवै प्रकृतिका किसानलाई लालपुर्जा वितरण गरेर नगरपालिकाभरि अब कुनै पनि किसानलाई जमिनविहीन रहन नदिने उहाँको भनाई छ । नगर प्रमुख ओझाले चुनावका बेला जनतालाई लालपुर्जा दिलाउने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दै उक्त चुनावी प्रतिबद्धता अनुरूप काम सुरु भएको सुनाउनु भयो ।
राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले कृष्णपुरले निकै मेहनत गरेर जनतालाई लालपुर्जा दिलाउन सफल भएको बताउँदै आयोगले लालपुर्जा वितरणका लागि जिल्लाभरि कामकाज अघि बढाइरहेको जानकारी दिनुभयो । ‘जिल्लाभरि एक चरणमा हामीले लगत सङ्कलन र निस्सा वितरण गरिसकेका छौँ, ‘उहाँले भन्नुभयो, ‘अहिले अधिकांश पालिकामा नाप जाँच सुरु भएको छ, हामीले पनि निरन्तर कामकाज अघि बढाएका छौँ ।’ राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले अहिले ६५ जना किसानलाई लालपुर्जा वितरण गरिएको बताउनु भयो । ‘विगतका आयोगले केही काम अघि बढाएका थिए, ‘उहाँले भन्नुभयो ‘अहिलेको आयोगले अघिल्ला आयोगको कामको स्वामित्व ग्रहण गर्दै पुर्जा वितरण गरेको छ, अन्य प्रकृतिका जनतालाई पनि लालपुर्जा वितरण गर्छौँ ।’ लामो समयदेखि जमिन भएर पनि लालपुर्जाविहीन भएका कृष्णपुरका जनता लालपुर्जा पाएपछि हर्षित हुनुभएको छ । उहाँहरूले आफ्नै जमिनको स्वामित्व पाउन लामो समय पर्खिनुपरेको अनुभव सुनाउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्