तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री श्रेष्ठसँग सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङको भेट

छेन्दु (चीन)।  जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कान ले आज भेट गर्नुभएको छ । 

छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो । 

उहाँले आगामी दिनमा विभिन्नस्तरबाट नेपाल–चीन सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा चीन सदैव उभिँदै आएको स्मरण गर्दै नेपालको विकासमा चीनको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा महासचिव कानले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नजिक ल्याउन विश्वविद्यालयले थप योगदान गर्ने विश्वास दिलाउनुभयो । विश्वविद्यालयले विज्ञान, प्रविधिलगायत विधामा शिक्षा प्रदान गरेर नेपालको मानव संशाधन विकासमा सहयोग गरेको जानकारी गराउनुभयो । 

उहाँले विश्वविद्यालयले विभिन्न कार्यशालाको आयोजना गरी नेपालबाट शिक्षासँग सम्बन्धित व्यक्ति तथा राजनीतिक दललाई आमन्त्रण गरेर नेपाल–चीन सम्बन्धका विविध आयामबारे छलफल गर्दै आएको बताउनुभयो । 

महासचिव कानले विश्विद्यालयले दक्षिण एसिया अध्ययन केन्द्र सञ्चालन गरेर नेपाल भारत, पाकिस्तानलगाय मुलुकुको अध्ययन सुरु गरेको उल्लेख गर्दै उहाँले विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्र खोलेर अध्ययन गरिएको जानकारी दिनुभयो । 
भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । 

सो क्रममा उहाँले विश्विद्यालयको जलविद्युत् अध्ययन केन्द्रको अवलोकन गर्नुभएको थियो । सो केन्द्रमा उच्च बाँध भएको जलाशयुक्त जलविद्युत् परियोजना निर्माणसम्बन्धी अनुसन्धान हुँदै आएको छ । सो अवसरमा केन्द्रले गर्दै आएको कामका बारेमा जानकारी दिइएको थियो ।

त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्ययमा अध्ययनरत विद्यार्थीमाझ नेपाल–चीन सम्बन्ध, विश्वपरिवेशलगायत विषयमा सम्बोधन मन्तव्य दिनुभएको थियो । 

विश्वविद्यालय परिसरमा नेपाली, चिनियाँ तथा विदेशी विद्यार्थीले उपप्रधानमन्त्री श्रेष्ठको भव्य स्वागत गरेका थिए । सो विश्वविद्यालयमा हाल ६६ विद्यार्थीले विभिन्न विषय अध्ययन गरिरहेका छन् । पछिल्लो १० वर्षमा मात्रै करिब छ सय विद्यार्थीले सो विश्वविद्यायबाट उच्च शिक्षा हासिल गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button