तपाईँ सुन्दै हुनुहुन्छः

दुई दशकपछि सडक कालोपत्रे हुँदै

दाङ । कच्ची बाटो पुगेको झन्डै दुई दशकपछि दाङ लमही नगरपालिका–९ स्थित रिहार–तेलिया सडकखण्ड कालोपत्रे हुन लागेको छ ।

खडेरीमा धुलो र वर्षायाममा हिलोको समस्या झेलेका त्यहाँका स्थानीय बासिन्दाले लामो समयपछि यस्तो समस्याबाट छुटकारा पाउने भएका हुन् । असार मसान्त सकिनै लाग्दा कामले पनि तीव्रता पाएको छ ।

लमही नगरपालिका–९ को रिहारदेखि तेलिया (बलीखुट्टी) सम्म सडक कालोपत्रे हुन थालेपछि त्यहाँका स्थानीयवासी खुसी भएका छन् । त्यस क्षेत्रमा कच्ची सडक पुगेको झन्डै दुई दशक पछि सडक कालोपत्रे हुन लागेको हो । यो क्षेत्रमा सडक कालोपत्रे भएपछि झन्डै दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुनेछन् ।

सडक कालोपत्रे भएपछि लमही नगरपालिका–९ का तेलिया, जुरपानी, कोल्तरा, तरुलिया, राजपुर गाउँपालिका–७ का बनकट्टी, लैबरुवा, सिक्टा, राताकांशसम्मका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुने राजपुर गाउँपालिका–७ राताकांशका स्थानीय शोभाराम विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button