पोखरामा खेल पर्यटनको अथाह सम्भावना छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको राजधानी पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको बताउनुभएको छ ।

गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको बिहीबार पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पोखरामा भौतिक संरचना, पोखरेलीहरूको खेल प्रतिको चासोले गर्दा खेलसँगै साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्न सके ठूलो आर्थिक लाभ लिन सकिने बताउनुभयो ।
पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न प्रदेश सरकारले विशेष पहल गर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । आउँदो आर्थिक वर्षको बजेटमा समेत पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न बजेट विनियोजन गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेलकुद मनोरञ्जनका लागि मात्रै नभई समृद्धिको अर्को पाटो भएको बताउनुभयो ।
परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले १० औँ राष्ट्रिय खेलकुद तयारीका लागि यस्ता प्रतियोगिताले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताको पहिलो दिन बिहीबार ७ खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा गोर्खाले तनहुँलाई २५–१९, २५–२१ को सोझो सेटमा पराजित गरेको छ । बिहीबार नै भएको पहिलो खेलमा कास्की पराजित भएको छ । कास्की म्याग्दीसँग २५–०६, २५–१० को सोझो सेटमा पराजित भएको हो । कास्कीले अर्को खेलमा लमजुङलाई २५–१९, २५–१७ मा जितेको छ । स्याङ्जाले मुस्ताङलाई २५–४ र २५–१४ को सोझो सेटमा पराजित गर्दा पर्वतले बागलुङलाई २५–२०, २५–१५ को सोझो सेटमा र मनाङले मुस्ताङ लाई ६–२४ र २५–२० को सोझो सेटमा पन्छाएको हो ।
गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता यही असार १६ गतेसम्म पोखरा रंगशालाको मल्टी प्रपोज कबर्ड हलमा हुदैछ । गण्डकी प्रदेशका कास्कीसहित ११ जिल्लाको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई एक लाख नगद पुरस्कार प्रदान गरिने परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनुभयो ।
प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेस्रो हुनेलाई ४० हजार साथमा ट्रफी र प्रमाण पत्र वितरण गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटर समेत घोषणा गरिने छ । उक्त विधामा हरेक उत्कृष्टलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्