‘मौलिक अभ्यास र अनुभवका आधारमा जनताको बहुदलीय जनवादको प्रतिपादन’
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनका मौलिक अभ्यास र अनुभवका आधारमा जननेता मदन भण्डारीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले निरङ्कुशता विरुद्ध भएका आन्दोलनको कुशल नेतृत्व गर्दै राजनीतिक व्यवहार र अभ्यासका क्रममा मदन भण्डारीले विचारको परिष्कार गर्न नेतृत्व लिएको पूर्व राष्ट्रपति भण्डारीले स्मरण गर्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले विभिन्न आन्दोलनका सफलतापछि पनि जनताको अधिकतम हितका निम्ति रूपान्तरण, संविधानको निर्माण र कार्यान्वयन एवं बलियो नेपाली राष्ट्रियताको पक्षमा मदन भण्डारीले खेल्नुभएको भूमिका सदैव मार्गदर्शनका रुपमा रहेको बताउनुभयो ।
त्यस अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादजस्तो पूर्ण लोकतान्त्रिक र जिम्मेवार विचार अरू नभएको स्पष्ट पार्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा कोही पनि भोकै बस्न नपरोस् भनेर सुखी नेपालीको राष्ट्रिय सङ्कल्प अघि सार्दै समृद्ध नेपालको परिकल्पना गरेको विचार व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले आफूले कम्युनिष्ट एकता आवश्यक ठानेर नेकपा गठन गरेर नेतृत्व लिएको भए पनि देशी विदेशी तत्त्व मिलेर लामो समय टिक्न नदिएको विचार व्यक्त गर्नुभयो ।
त्यस अवसरमा मदन भण्डारी फाउण्डेशनले प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कार डा मिंगमार ग्याल्जेन शेर्पा र मदन भण्डारी रूपान्तरण नेतृत्व पुरस्कार निरुकुमारी मगरलाई प्रदान गरियो ।








प्रतिक्रिया राख्नुहोस्