प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन सुरु
काठमाडौँ । तेस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० बिहीबारदेखि ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा सुरु भएको छ ।
युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने भन्दै खेलकुदको माध्यमबाट राज्यको आर्थिक स्तर उकास्ने कार्यमा सबै लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री लिम्बुले खेलकुदमा निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने भन्दै खेललाई राजनीतिबाट पर राखेर खेल र खेलाडीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
बिहीबार भएको पहिलो दिनको पुरुष एकल तर्फको खेलमा त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका विजित थापा मगरले विजयी सुरुवात गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् । दोस्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरूमा आयुष्मान् श्रेष्ठ, एपिएफका क्षितिज खनाल, रिभाईभका प्रशोभ रात्न शाक्य, आर्मीका रुकेश महर्जन, आर्मीका सुविन श्रेष्ठ, एपिएफका अमन महर्जन, भक्तपुरका रिसोद सुवाल, सङ्खुवासभाका रिजन याम्फु, आर्मीका नरेन्द्र बम, बि.वाई.सी.का सुमित थोकर, पुलिसका सुनिल जोशी, बनेपाका सानु बाबु गोले, पुलिसका हिरा बहादुर राई र सेनाका विवेक चौधरी रहेका छन् ।
प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र÷छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष र महिला एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।
यस्तै पुरुष युगलतर्फ शीर्ष तीन विजयीहरूले क्रमशः नगद ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स तर्फका विजयीहरूले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यु– ११, १३ र १५ का शीर्ष तीन विजयी खेलाडीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यसका साथै विजयी खेलाडीहरूले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्