तपाईँ सुन्दै हुनुहुन्छः

बाँके लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बीच बाँकेलाई लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि आज जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

खोपै नलगाएका २ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । माघदेखि घरधुरी सर्वेक्षण सुरुवात भई ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो ।

डुडुवालाई वैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलाई ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । बाँके २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा भएको थियो । पूर्ण खोप घोषणापछि प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप दिई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button