तपाईँ सुन्दै हुनुहुन्छः

केरुङ्गा खोला सीमाङ्कन कार्यको शुभारम्भ 

चितवन । भरतपुर महानगरपालिकाले अतिक्रमित जमिनको संरक्षण अन्तर्गत केरुङ्गा खोला सिमाङ्कन कार्यको शुभारम्भ भएको छ । 

केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहीबार उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिबद्ध रहेको बताउनु भयो । भरतपुर महानगरपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने पुलबाट सीमाङ्कनको कार्य शुरु भएको हो ।

भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाइका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिक जमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उहाँको भनाई थियो ।

सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथमिकता राखेको प्रमुख दाहालले बताउनुभयो । व्यक्ति विशेष वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको समेत उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक जमिन संरक्षणसँगै हरियाली प्रवर्द्धनसहित पर्यटकीय पूर्वाधार निर्माण हुने उहाँको भनाई छ ।

केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रक्रिया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताउनुभयो ।

संरक्षण पश्चात् यसको सौन्दर्यीकरण गर्ने काममा लाग्ने उहाँको भनाई थियो । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढाइने इन्जिनियर शिवहरि अधिकारीले जानकारी दिनुभयो ।

केरुङ्गा खोलाको सौन्दर्यीकरण तथा पूर्वाधार निर्माणका लागि  १४ करोड रुपैंया विनियोजन भएको छ । केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यीकरण गर्न ३ अर्ब रुपैयाँ बढी लाग्ने छ । यसमा डुङ्गा चलाउन मिल्ने गरी दायाँ बायाँ साइकल ट्रयाक र ठाउँ ठाउँमा पार्क हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button