तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा कृषि प्रविधि वितरण

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषकलाई र समूहलाई अनुदानमा हाते ट्याक्टर र सुन्तला टिप्ने भर्‍याङ लगायतका प्रविधिहरू वितरण गरेको छ। बुधबार पालिकाले व्यवसायीक रुपमा कृषि खेती गर्दै कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा अघि बढाउन ५० प्रतिशत अनुदानमा प्रविधिहरू वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

पालिकाभित्रका अगुवा कृषक, कृषक समूह र कृषकलाई १६ वटा मिनिटेलर हलो, १० वटा तौल मेशिन, ९ वटा सुन्तला टिप्ने भर्‍याङ, २३ वटा सिकेटर र २० वटा आरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख हेमन्तबहादुर शाहीले बताउनुभयो । 

उहाँले चालू आर्थिक वर्षको ११ लाख ९८ हजार ५ सय बजेटमार्फत कृषकका मागअनुसारका छिटोछरितो र सहज रुपमा काम गर्ने प्रविधिहरू खरिद गरेर कृषकलाई वितरण गरिएको बताउनुभयो । 

सो प्रविधिहरू गाउँपालिका अध्यक्ष भारतकुमार पुन (भरत), प्रमुख प्रशासकीय अधिकृत सुवेदी र कृषि शाखा प्रमुख शाहीले कृषकलाई वितरण गर्नुभएको थियो । अध्यक्ष पुनले किसानलाई कृषि पेसाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर लगायतको मेसिनहरू वितरण गरिएको बताउनुभयो । 

कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिकता दिएर करिब १ करोड विनियोजन गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button