धनुषाका पाँच पालिकामा आन्तरिक विवादले सभा हुन सकेन

जनकपुरधाम । धनुषाका पाँच वटा स्थानीय तहले निर्धारित समयमा सभा गर्न सकेका छैन । असार १० गतेभित्रमा सभा गरिसक्नु पर्ने संवैधानिक व्यवस्था भएपनि धनुषाका पाँच वटा तहले सभा गर्न सकेको छैन ।
नगरसभा सभा नगर्नेहरूमा धनुषाको मिथिला, कमला र शहिदनगर नगरपालिका रहेका छन् । यसै गरि गाउँ सभा नगर्नेहरूमा धनुषाको औरही तथा धनौजी गाउँपालिका रहेका छन् । धनुषाका पाँच पालिकाले नगर वा गाउँ सभा नगर्दा मन्त्रालयले प्रदान गर्ने कतिपय सुविधाहरू पाउनबाट बञ्चित हुने भएको छ ।
धनुषाका जिल्लामा १८ वटा पालिकाहरू रहेका छन् । १८ पालिका मध्ये जनकपुरधाम उपमहानगरपालिकले असार ८ गते नै नगरसभा गरेका थिए अन्य पालिकाहरूले असार १० गते १२ वटा पालिकाले एक्कै दिनमा नगरसभा गरेका छन् ।
नगरसभा नगर्ने पालिकाहरूमा आन्तरिक विवाद भएका कारणले सभा हुन सकेको छैन । केही पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत नभएका र भएपनि ढिलो गरि आएका कारणले नगरसभा समयमा गर्न सकेको छैन । समयमा नगरसभा गर्नेलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अतिरिक्त सुविधा प्रदान गर्दै आएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको १० औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्यय सहितको बजेट ल्याएको थियो ।
कतिपय पालिकाले नगरसभा गरेपनि सभाबाट बजेट पारित गर्नु पर्नेमा गर्न सकेको छैन । नगरसभाको उद्घाटन भएपनि नगरसभामा बजेट माथिको छलफल कतिपय पालिकामा गर्न सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्