तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली भुटानी शरणार्थी प्रकरण : फरार एक प्रतिवादी पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । सोही आधारमा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्व मन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राइसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही रु पाँच र १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्ते लगायत पाँच मुद्दा चलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button