पोखरीया नगरपालिकाद्वारा ४५ करोड ८ लाख को अनुमानित बजेट प्रस्तुत

वीरगञ्ज । पर्साको दोस्रो ठूलो स्थानीय तहको रुपमा रहेको पोखरीया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४५ करोड ८ लाख २ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तावित गरेको छ । पोखरीया नगरपालिकाको ७ औ नगर सभाको पहिलो बैठकमा आज नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
नगरपालिकाले नेपाल सरकारको समानिकरण अनुदान तर्फको १० करोड ९५ लाख, सशर्त अनुदान तर्फ २० करोड ५९ लाख, सशर्त पुँजीगत अनुदान तर्फ १ करोड, नेपाल सरकाको समपूरक अनुदान तर्फ ७५ लाख, विशेष अनुदान तर्फ ७० लाख, मधेश प्रदेश सरकारको समानीकरण अनुदान ७९ लाख ३० हजार, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारकै समपूरक अनुदान २० लाख, प्रदेश सरकारको राजस्व बाँडफाँड तर्फको ५० लाख, सङ्घीय सरकारको बाँडफाँड तर्फको ८ करोड ४९ लाख ७२ हजार, आन्तरिक श्रोत ४५ लाख ५० हजार, बैङ्क मौज्दात १४ लाख ५० हजार, मालपोत राजस्व २० लाख गरी ४५ करोड ८ लाख २ हजारको प्रस्तावित बजेट पोखरीया नगरपालिकाकी उपप्रमुख रुवी कुमारी ठाकुरले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रद्युमन चौहानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरीया नगरपालिका भित्र रहेका सबै व्यवसायलाई करको दायराभित्र ल्याउने, ऐलानी जग्गामा बनाइएका संरचनालाई नियम अनुसार करको दायरामा ल्याउने, बजारलाई व्यवस्थित गर्ने, वडा कार्यालयका काम कारबाहीलाई पारदर्शी बनाउने, पोखरीया नगर विकास जग्गा एकीकरण आयोजनालाई सशक्त बनाउने, कला साहित्य, भाषा, धार्मिक, संस्कृति रीतिरिवाजको संरक्षण गर्ने लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई सम्बन्धी विभिन्न ठोस कार्यक्रमहरू अगाडी बढाउने बताउनु भएको छ ।
कार्यक्रममा पोखरीया नगरपालिकाका १० वटै वडा अध्यक्षहरू, वडा सदस्य, नगरपालिकाका बोर्ड सदस्य सहित नेपाली कांग्रेसका रामबाबु प्रसाद चौहान, नेकपा एमालेका विन्धान्चल ठाकुर, माओवादी केन्द्रका पानालाल प्रसाद कुर्मी, जसपाका राजु साह तेली, लोसपाका नेजामोद्दिन समानी, नेपाल सुशासन पार्टीका प्रतिनिधि शङ्कर यादव, पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, अजय कुमार श्रीवास्तव, राजनारायण कुर्मी, योगेन्द्र प्रसाद कुर्मी लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्