चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेस फेस्टिभल पोखरामा सुरु (फिचर फोटो)

पोखरा । पर्यटकीय नगरी पोखरामा आज (शुक्रबार) देखि चाइना नेपाल फ्रेण्डसिप ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । शनिबारसम्म पोखरामा सञ्चालन हुने उक्त फेष्टिभलको आज एक समारोहका बिच नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपाल स्थित चाइनिज राजदूत चेन सोङले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
उद्घाटनको अवसरमा नेपाल र चाइनाको कला संस्कृति झल्कने नृत्य समेत प्रस्तुत: गरिएको थियो । नेपालमा पहिलो पटक भएको उक्त प्रतियोगिताको अवलोकन गर्न हजारौँ पोखरेली पोखराको फेवाताल किनारामा पुग्नु भएको थियो ।

आज २ सय र ५ सय मिटरको दुई÷दुई चरणको प्रतिस्पर्धा भएको प्रतियोगिताका प्राविधिक प्रमुख मिन बहादुर मगरले बताउनु भयो । नेपालको तर्फबाट ४ र अन्य विदेशी ४ गरी ८ टिम बिच प्रतिस्पर्धा भएको उहाँले बताउनु भयो ।
दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना भएको उक्त बोट रेसमा सहभागी हुन सिंगापुर, चाइना र नेपालका गरी ८ टिमको सहभागिता रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरा लेकसाइडको क्याम्पिङचोकमा चाइना तथा नेपालका केही स्टलहरू समेत रहेका छन्।

नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा डुङ्गा व्यवसायी सङ्गठन, र पोखरा महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी भएको पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताउनु भयो । प्रतियोगितामा विजेता हुने टिमलाई जनही ५ लाख ५० हजार पुरस्कार प्रदान गरिने भएको उहाँले बताउनु भयो । पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । रेश सँगै दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समेत गरिने भएको छ ।
उक्त प्रतियोगितामा सहभागी टिममा १२ जना खेलाडीहरू हुन्छन् भने एक जनाले चाइनिज ड्रम बजाउँदै त्यसको तालमा अन्य खेलाडीहरूले डुङ्गा खियाउँदै आफ्नो निर्धारित दुरी पार गर्न प्रतिस्पर्धा गर्नु भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एसोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन तथा अन्य संस्थाहरूसँगको सहकार्यमा उक्त बोट रेस सहित फेष्टिभवल भएको हो ।

















प्रतिक्रिया राख्नुहोस्