तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका बालबालिका पहिचान गरी उचित उपचार गर्न  नीतिको आवश्यक

काठमाडौँ । अपाङ्गता भएका बालबालिका जतिसक्दो चाँडो पहिचान गरी उचित उपचार गर्न  नीतिको आवश्यक भएको सरोकारवालाहरुले औँल्याएका छन् । 

नेपाल नेत्रहीन सङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य  डा कालुराम राईले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

दृष्टिविहीनहरूको प्रतिनिधित्व गर्दै संसदमा पुग्नुभएका राईले त्यस प्रकारको नीतिले  जन्मदेखि तीन वर्षसम्मका अपाङ्गता भएका बालबालिकालाई प्रदान गरिने सेवाको उपलब्धतामा सहज हुने  बताउनुभयो ।

बालबालिकालाई व्यावसायिक थेरापी, स्पिच थेरापी, फिजिकल थेरापी र व्यवहारात्मक हस्तक्षेप जस्ता सेवा बेलैमा उपलब्ध गराउन नीतिगत र कानुनी प्रबन्ध गर्नुपर्नेमा सांसद राईले जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव गौरीशङ्कर पाण्डेले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्ने विषयमा छलफल गरिने जानकारी गराउनुभयो । 

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा दिव्या दवाडीले विशेष शिक्षा सेवाको आवश्यकतालाई पनि उक्त नीतिले सघाउने बताउनुभयो ।

सङ्घका अध्यक्ष सुरेशचन्द्र न्यौपानेले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गरेपछि उनीहरुलाई समान अवसर प्रदान गर्न पूर्ण र प्रभावकारी सामाजिक समावेशीकरण हुने बताउनुभयो ।

सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले उक्त प्रस्तावित नीतिलाई सरोकार भएका निकाय र संस्थाका बीचमा छलफल गरी कार्यान्वयनका लागि वकालत गर्ने बताउनुभयो ।

अपाङ्गता भएका महिलाको महासङ्घका अध्यक्ष निर्मला धितालले नेपालको मौलिक हकमा व्यवस्था भएबमोजिम अपाङ्गता भएका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा प्राप्त हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button