समाजवादी मोर्चा नेपालले राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नेपालले विगतका कमिकमजोरीहरुलाई सच्याउँदै देखापरेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
जसपाको पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मुलुकलाई सुशासन, स्थिरता, विकास, समृद्धि र सामाजिक न्यायसँगै मुलुकलाई अग्रगामी निकास दिने दिशातर्फ लैजाने उद्देश्यका साथ मोर्चाको निर्माण भएको बताउनुभयो ।
जसपाले पहिचान, प्रतिनिधित्व, सुशासन, विकास र समृद्धि लगायतको समाजवादसँग सरोकार राख्ने मुद्दालाई बलियो बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट एकलौटी ढङ्गबाट ल्याइएको र सत्तारुढ गठबन्धन दलहरूसँग छलफल नभएकाले बजेटलाई सच्याएर ल्याउनुपर्ने अध्यक्ष यादवको भनाई छ ।
उहाँले मधेश प्रदेश लगायतका धेरै ठाउँको बजेटमा उपेक्षा गरिएकोले बजेटमा सुधार गर्नुपर्ने र सच्याउन आवश्यक रहेको जानकारी दिनुभयो ।
साथै यही असार १० गते पार्टीको विधान अधिवेशन शुरु हुने र तीन दिनसम्म चल्ने अधिवेशनमा एक हजारभन्दा बढी सहभागी हुने अध्यक्ष यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्