सुदूरपश्चिममा पनि सुरु भयो श्रमदान अभियान

कैलाली । धरानका मेयर हर्क साम्पाङले सुरु गरेको श्रमदान अभियानको चर्चा देशभर भइरहेको बेला सुदूरपश्चिममा पनि यो अभियान सुरु गरिएको छ । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)ले बुधबारबाट यो अभियान थालेका छन् ।
सुदूरपश्चिममा नयाँ अभ्यासको सुरुवात गरिएको भन्दै उनको चर्चा बढ्न थालेको छ । उनले बुधबार पालिकाको वडा नम्बर ४ मा निर्माणाधीन अवस्थामा रहेको शान्तिपुर खानेपानी योजनामा आफैँले दिनभर श्रमदान गरेका छन् । यस कामलाई ‘मेरो पालिका मै बनाउँछु’ अभियानका रूपमा अघि बढाउने गाउँ सरकारको लक्ष्य छ । यसलाई गाउँसभाबाट पास गरी कार्यान्वयनमा लैजाने अध्यक्ष उपाध्यायले बताए ।

‘गाउँसभाबाट पार गरी यसको नीति तथा कार्यक्रम नै बनाउँछौँ । एउटा मात्र होइन, गाउँपालिकामा सञ्चालन हुने सबै योजनाहरूमा हामी जनप्रतिनिधिहरू वर्ष भरी नै श्रमदान गर्छौं र आम जनतालाई पनि श्रमदानका निम्ति आह्वान गर्छौं’, उहाँले भन्नुभयाे ।
योजना निर्माणमा जनचासो घटेको, अपारदर्शिता र ढिलासुस्ती बढेको, जनताले अपनत्वको आभास नगरेकाले आयोजना कमसल बन्ने गरेको लगायतका समस्याहरू देखिन थालेपछि यो अभियान सुरु गरेको उहाँको भनाइ छ । गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षबाट अभियान सफल पार्न गाउँपालिका अध्यक्षदेखि वडासदस्य सम्म सबै अनिवार्य श्रमदानमा लाग्ने छन् । यो श्रमदान उपभोक्ता समिति मार्फत योजनामा नियमानुसार गर्नुपर्ने श्रमदान भने होइन ।








प्रतिक्रिया राख्नुहोस्