श्रम सचिवसँग बाह्य श्रम बजारका पछिल्ला समस्या र समाधानका विषयमा छलफल

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घको कार्यसमितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भर्खरै आउनुभएका सचिव केवलप्रसाद भण्डारीसँग औपचारिक भेटघाट गरेको छ ।
आज मन्त्रालयमा भएको कार्यक्रममा सचिव भण्डारीलाई स्वागत गर्दै बाह्य श्रम बजारका पछिल्ला समस्या र समाधानका विषयबारे पनि सङ्घले जानकारी गराएको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी परम्परागत रूपमा खाडी देश र मलेसियामा मात्र केन्द्रित भएकाले अब पश्चिमा देशहरूमा जाने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।

‘अहिलेसम्म युरोप, अमेरिका जस्ता पश्चिमा मुलुकहरूमा रोजगारीका राम्रा अवसर भए पनि मागपत्र प्रमाणीकरण नहुँदा वैध बाटोबाट संस्थागत रूपमा जाने अवसर गुमिरहेको अवस्था भइरहेको छ’ उहाँले भन्नुभयो ।
इजाजतपत्र प्राप्त संस्थाबाट पश्चिमा देश पठाउन सके भिजिट भिसामा जाने क्रम रोकिने र ठगीसमेत नियन्त्रण हुने उहाँको तर्क छ । तर परराष्ट्र मन्त्रालयले यस विषयलाई चासो नदिएको उहाँको दुखेसो छ ।
त्यस्तै, एक सय जना श्रमिक नपठाए कम्पनी खारेजी हुने व्यवस्था अव्यवहारिक भएको भन्दै यो व्यवस्थाले नवीकरणलाई बाधा पुर्याएको र यस्को तत्काल न्यायोचित समाधानका लागि पहल गरिदिन सचिव भण्डारीलाई आग्रह गर्नुभयो ।

संघका पूर्वअध्यक्ष प्रेम कटुवालले अहिले नयाँ गन्तव्य देशको खोजी व्यवसायीको प्राथमिकता भएकोले सरकारले मागपत्र प्रमाणीकरणमा समन्वयात्मक सहज व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनालले पश्चिमा देशका रोजगारदातामा नेपाली पाउने थलो भनेको युएई र कतार हो भन्ने धारणा बनेको बताउँदै परराष्ट्रसँग समन्वय गरेर उचित कदम नलिए द्विपक्षीय सम्बन्ध नै बिग्रिने भयावह अवस्था बनिसकेको उहाँले बताउनुभयो ।

श्रम सचिव भण्डारीले यी सबै समस्याहरूमा जानकार रहेको र समाधानका एवं यो क्षेत्रको सुधारका लागि आफू मन्त्रालय रहुन्जेल काम गर्ने बताउनुभयो ।
मन्त्रालयबाट यसै आर्थिक वर्ष आफ्नो रिटायर्डसमेत हुने भएकाले सकारात्मक पहलका लागि काम गर्ने भन्दै उहाँले यसका लागि व्यवसायीहरूबाट सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्