सर्लाहीको कौडेना गाउँपालिकाद्वारा ३४ करोड बढीको बजेट सार्वजनिक
सर्लाही । सर्लाहीको कौडेना गाउँ कार्यपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ३४ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
बुधवार कौडेना गाउँपालिकाले १० औँ गाउँ सभा आयोजना गरी ३४ करोड ३३ लाख ७७ हजार ६ सय बराबरको नीति तथा कार्यक्रम पेस गरेको हो । गाउँ कार्यपालिकाले आयोजना गरेको औपचारिक सभा समक्ष आगामी आर्थिक वर्षको लागि पालिका उपाध्यक्ष नगिना देवीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँ कार्यपालिकाले पुजिगत खर्चतर्फ १० करोड ७६ लाख र चालू खर्चतर्फ २४ करोड ५७ लाख ७७ हजार ६०० रुपैयाँ बजेट बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले जानकारी दिनुभयो । कार्यपालिकाले यस पटक बजेट निर्माण गर्दा शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेको पालिका अध्यक्ष यादवको भनाई थियो ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवर्धन, लगायतको क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ । सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कौशल किशोर रायले बजेटलाई जनजिविका सँग जोड्न आग्रह गर्नुभयो ।
उहाँले बजेट सडक ग्राभेल, माटो र गिट्टी हाल्न काममा खर्च नगर्न अनुरोध गर्नुभयो । बजेटबाट नागरिकले दिगो विकास महसुस गर्नु पर्ने उहाँको भनाई छ । प्रदेश सांसद रायले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । नीति तथा कार्यक्रम जनमुखी हुनुपर्नेमा कार्यक्रमका अधिकांश वक्ताहरूको जोड समेत रहेको थियो ।
गाउँ पालिका सभाहलमा सम्पन्न गाउँसभा उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, सम्पुर्ण वडाध्यक्ष एवं कार्यपालिका सदस्य र स्थानीय सहभागिता रहेको थियो ।
यो सहित सर्लाहीमा दुई पालिकाले आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस पहिला चक्रघट्ट गाउँपालिकाले गाउँ सभा प्रारम्भ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्