मेलम्चीमा ‘बेलिब्रिज’ जडान कार्य करिब दुई सातामा सम्पन्न हुने

सिन्धुपाल्चोक । जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निमार्ण कार्य सुरु भएको छ, नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो । आजबाट सेटिङ आउटको काम सुरु भएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाइँले जानकारी दिनुभयो ।
निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता अनुसार केही समय ढिलो गरेर बेलिब्रिज जडान सुरु गरिएको यस कार्यमा समन्वय गरिरहनुभएका नेपाली काँग्रेसका मेलम्ची नगर उपसभापति रामशरण गिरीले जानकारी दिनुभयो । वर्षायाममा यहाँका नागरिकहरूलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले अबको करिब दुई साता जतिमा जडान कार्य सम्पन्न गरिने सेनाले जनाएको छ । मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङको पहल, निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । विसं २०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरूले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।यस स्थानमा पक्की पुलका लागि पनि प्रदेश सरकारबाट केही बजेट बिनियोजन भएको मेलम्ची नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्