मालिकामा घरेलु मदिरालाई ब्राण्डीङ गर्ने नीति

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय बस्तुबाट उत्पादित हुने घरेलु (लोकल) रक्सीलाई ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार भएको १३ औँ गाउँसभाबाट अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरालाई ब्राण्डीङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषयमा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कोदो, जौ, उवाँ, जंगली फलफूल चुत्रो, ऐसेलु, जनमान्द्रो प्रशोधन गरेर घरेलु मदिरा बनाउने व्यवसायलाई व्यवस्थित र आम्दानी स्रोतको रुपमा विकास गर्ने आगामी बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । गाउँ सभामा उपाध्यक्ष लक्ष्मी घर्ती पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायिक सम्बन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ ।
“किसान चौतारी, जोतौँ खेतबारी” कार्यक्रम सञ्चालन गरि बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन, कृषि औजारमा खरिदमा किसानलाई अनुदान दिने, विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैङ्गिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाई, वातावरण तथा जलवायु परिवर्तन, विपद व्यवस्थापन, लगायतका क्षेत्रलाई प्राथमिकता दिएर समावेश गरेको छ ।
गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ शहरी योजना, बस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । पालिकाले जीवन उपयोगी सिपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अघि बढाउने योजना राखेको छ।
कार्यक्रममा अध्यक्ष गर्वुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने सङ्कल्प अनुसार समस्त गाउँपालिका बासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।आर्थिक बर्ष २०८०/८१ को बजेट असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्