बाढी पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्रता दिइएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी पहाडको बाढी पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री श्रेष्ठले पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरको बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि स्थानीय तह लगायत सरोकारवाला निकायसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएको र ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड बमोजिम मृतकको परिवारमा एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले घरबास विहीन भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्