तपाईँ सुन्दै हुनुहुन्छः

सिकल सेल नियन्त्रणका लागि विशेष अस्पताल निर्माणको पहलकदमी लिने मन्त्री मोदीको प्रतिबद्धता

बर्दिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्यूनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको सिकल सेल दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । “थारु समुदायमा विकराल रूप लिनेगरी देखिएको सिकल सेलको उपचारका लागि एउटा विशेष अस्पतालको आवश्यकता छ भन्ने महसुस मलाई पनि भएको छ” मन्त्री मोदीले भन्नुभयो, “सिकल सेलको न्यूनीकरण र निर्मुलीकरणका लागि एउटा विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सिकल सेलको नियन्त्रणका लागि सबै तहका सरकारले प्राथमिकताका साथ कार्यक्रमहरू अगाडि बढाउनुपर्ने मन्त्री मोदीको भनाई छ “संघीय सरकारले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ” मन्त्री मोदीले भन्नुभयो, “सिकल सेल एनिमिया रोग थारू समुदायका लागि ठुलै जनस्वास्थ्य समस्या हो । यसको नियन्त्रणका लागि विशेष अस्पतालको व्यवस्था गर्न अनिवार्य बनेको छ, यसको निर्माणमा म लागि पर्ने उद्घोष गर्न चाहन्छु ।”  

मन्त्री मोदीले समुदायमा आधारित जाँच, नियमित उपचार, स्थानीयस्तरमा परीक्षण प्रयोगशाला र स्थानीय पाठ्यक्रम निर्माण र पठनपाठनजस्ता कार्य विस्तार गरेर सिकल सेल एनिमियाको बारेमा जनचेतना बढाउन आवश्यक रहेको समेत बताउनुभयो ।

मन्त्री मोदीले सिकल सेलका सम्बन्धमा आफूले संयुक्त राष्ट्र सङ्घमा समेत महत्वका साथ विषय राखेको स्मरण गराए । ०८० वैशाख ०६ गते मन्त्री मोदीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजना भएको आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा थारु समुदायमा भयावह रूपमा फैलिएको सिकल सेल एनिमियाको विषयमा विशेष प्राथमिकताका साथ आफ्नो भनाई राखेका थिए । 

सिकल सेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले संयुक्त राष्ट्र सङ्घमा भनेका थिए, “यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।”

राजापुर नगरपालिकाले सिकल सेल एनिमियाको नियन्त्रणका लागि जनचेतना जगाउने र नगरभित्रका नागरिकमा सिकल जाँच गर्ने उद्देश्यले  पहिलोपटक दिवसको आयोजना गरेको हो । दिवसमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्म बहादुर चौधरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, उपप्रमुख मनकला कुमारी चौधरीलगायतको उपस्थित थियो । 

सिकल सेल दिवसमा झण्डै १४ सय जना बिरामीको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी वितरण गरिनेछ । स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ डा. विशेष पौडेल, डा. राजन पाण्डे उपस्थित छन् । दिवस एक सातासम्म जारी रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button