चुनावका प्रतिस्पर्धी वर्तमान विकासका सहयात्री
कैलाली । २०७९ को वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कैलालीको बर्दगोरिया गाउँपालिकामा करिब पाँच दल चुनावी मैदानमा होमिएका थिए । निर्वाचनमा प्रतिस्पर्धी भएका व्यक्तिहरू यति बेला भने विकासका सहयात्री भएका छन् । समृद्ध बर्दगोरिया बनाउन उनीहरूले हातेमालो गर्दै अघि बढेका छन् ।
तत्कालीन अवस्थामा गाउँपालिकामा अध्यक्ष पदका लागि गठबन्धन (नेपाली काँग्रेस र माओवादी केन्द्र) का साझा उम्मेदवार शेरबहादुर कठरिया, नेकपा एमालेबाट कर्णबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीन जोशी, नागरिक उन्मुक्ति पार्टीबाट भजनलाल कठरिया, राष्ट्रिय जनमोर्चाबाट रुपा आले मगर र नेपाल मजदुर किसान पार्टीबाट सूर्यबहादुर शाही चुनावी मैदानमा थिए । नेकपा एमालेका कर्ण बहादुर कुँवर यती वेला गाउँ सरकार प्रमुख छन् ।
“विकासका लागी हामी” उनको मूल मन्त्र छ । सोही अनुरूप उनले आफ्ना प्रतिस्पर्धीहरूलाई सँगै लिएर विकासको गति बढाएका छन् । राप्रपाबाट आफ्ना प्रतिस्पर्धी बनेका नवीन जोशीलाई बर्दगोरिया विकास उपभोक्ता समितिको अध्यक्ष बनाएका छन् । यस्तै वडा नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका जन्मदेव सञ्जाल यसको सचिव छन् ।
अहिले गाउँपालिकामा भइरहेको पानी पिचको काम हेर्ने प्रमुख जिम्मा उनीहरूको छ । यस्तै निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार बनेका शेरबहादुर कठरिया अहिले बर्दगोरिया गाउँपालिका ४ झरझरियामा रहेको बर्दगोरिया गौशालाको सचिव छन् । गाई संरक्षण र व्यवस्थापनको जिम्मा उनको छ ।
यस्तै स्थानीय तह निर्वाचन २०७४ का प्रतिस्पर्धी एवम् नेपाली काँग्रेसबाट निर्वाचित निवर्तमान बर्दगोरिया गाउँपालिका अध्यक्ष वलीराम डगौरा थारुलाई अहिले ग्राभेल सङ्कलन समितिको संयोजक बनाइएको छ । गाउँ सरकारलाई आवश्यक पर्ने ग्राभेलहरू सङ्कलन, परिचालन र व्यवस्थापनको जिम्मा उनलाई दिइएको छ ।
गाउँ ठाउँ बनाउने काममा सबै लाग्नु पर्छ । सबै मै हु । म मात्र सक्छु । भन्ने सोच्नु हुँदैन । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने,… “५ वर्ष भित्र काम गर्ने जिम्मेवारी पाएर आएको छु । त्यसपछि त उही ठाउँमा फर्किनु नै छ । म एउटाको भन्दा सबैको हातेमालो भयो भने काम गर्न सहज हुन्छ र प्रतिफल पनि राम्रो निस्कन्छ भन्ने सोचेर सबैलाई साथमा लिएर काम गर्न खोजेको छु ।”
प्रतिस्पर्धी सँगको दुरी कायम राख्ने तथा बदला भाव राख्ने राजनीतिक संस्कारका बिच अध्यक्ष कुँवरले थालेको यो प्रयासबाट उनका तत्कालीन प्रतिस्पर्धीहरू समेत खुसी छन् । अध्यक्ष ज्युमा गज्जबको राजनीतिक संस्कार देखियो । तत्कालीन प्रतिस्पर्धी नवीन जोशीले भने,… “उहाँले जितेपछि त हामी सँग के सहकार्य गर्नु होला र ? सायद हामी नजिक गएको पनि राम्रो मान्नु हुन्न होला भन्ने लाग्थ्यो । तर त्यसो भएन । बर्दगोरियाकाको विकासका लागी आफ्ना प्रतिस्पर्धी, राजनीतिक दल तथा सरोकारवालाहरूलाई सँग सँगै लिएर काम गर्न थाल्नु भएको छ । यो अति नै राम्रो कार्य हो ।”
उसो त तत्कालीन प्रतिस्पर्धीहरू गाउँ सरकारको प्रतिपक्षमा बस्नु पर्नेमा सरकार सँगै कुम जुधाउने कार्यको आलोचना पनि हुने गरेको छ । “नेताले यसरी नैतिकता नै बिर्सन त नहुने हो । गाउँपालिकाका पूर्व अध्यक्ष, निर्वाचनका प्रतिस्पर्धीहरू उपभोक्ता समितिको अध्यक्ष बनेको खबरले राजनीतिमा कस्तो सन्देशले जाला ? के उनीहरू फेरी हामी त नेता हौ नि भन्न सक्लान् ?” एक स्थानीय नेताले भने । प्रतिस्पर्धीहरू प्रतिपक्षमा बसेर राम्रो कामको प्रशंसा र प्रचार गर्ने अनि नराम्रो काममा खबरदारी गरेर अघि बढ्नु पर्ने केहीको बुझाई छ ।
प्रतिक्रिया राख्नुहोस्