तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे जोगाउन तटबन्ध निर्माण

कैलाली । कैलालीकाे बर्दगोरिया गाउँपालिकामा झोलुङ्गे पुल जोगाउन तटबन्ध निर्माणको काम सुरु भएको छ । 

जिल्लाको बर्दगोरिया गाउँपालिकामा केही महिना अघि निर्माण भएको झोलुङ्गे पुल कटानको उच्च जोखिममा पर्ने भएपछि गाउँपालिकाले तटबन्ध निर्माण सुरु गरेको हो । 

गत माघ महिनामा ८० लाखको लागतमा वडा नम्बर ३ बुटकौवा र वडा नम्बर ४ नौनिया जोड्न काँडा नदीमा झोलुङ्गे पुल निर्माण गरेको थियो । निर्माण लगत्तै वडा नम्बर ३ तर्फको पिलर नदी कटानको उच्च जोखिममा परेको भन्दै स्थानीयहरूले तटबन्धको माग गर्दै आएका थिए । सोही अनुरूप गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरी काम अघि बढाएको छ । 

“१० लाखले मात्रै कहाँ पुग्छ त ।” गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भन्नुभयो, “बजेट अभाव भयो । तै पनि तानतुन गरेर १० लाखको तटबन्ध बनाउँदै छौँ । यो पर्याप्त भने होइन । यसले यो वर्ष केही रोक्यो भने आगामी आर्थिक वर्षमा त्यसलाई बलियो र दिगो बनाउने गरी बजेटको व्यवस्था हुन्छ ।” 

काँडा र कुइरा नदीले घेरिएका वडा नम्बर ३ बासीले विगतदेखि पुल अभावमा बर्सातमा जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । झोलुङ्गे पुल निर्माण भएसँगै यस वर्षबाट वडावासीलाई केही राहत पुग्ने देखिएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button