बाढी पहिरोबाट पीडितलाई तत्काल राहत, उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले पूर्वी पहाडका जिल्लामा गएको बाढी पहिरोबाट पीडित नागरिकहरूलाई तत्काल राहत,उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको छ ।
बैठकको सुरुमा सांसदहरु दिपक खड्का, योगेशकुमार भट्टराई, रामकुमार राई, अशोक कुमार चौधरीले अविरल बर्षाका कारण गएको बाढी पहिरोले सङ्खुवासभा, ताप्लेजुङ तेह्रथुम, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै पीडितलाई तत्काल राहत, उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद्हरुले विपत्बाट भएको क्षतिको यथार्थ विवरण र उद्धारको कार्य प्रगतिका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका मन्त्रालयगत विभिन्न शीर्षकहरू माथिको छलफल जारी छ ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।
प्रतिक्रिया राख्नुहोस्